• २३ जेठ २०८२, शुक्रबार

बेहडा बाबामा बिहानैदेखि दर्शनार्थीको भिडभाड

blog

बेहडाबाबा मन्दिरमा दर्शनार्थी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, जेठ २२ गते ।
गंगा दशहराका अवसरमा बेहडाबाबा मन्दिरको दर्शनका लागि बिहीबार बिहानैदेखि नेपाल–भारतका तीर्थयात्रीको भिड लागेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा दर्शनार्थीको भिड लागेको हो । राति १२ बजे पूजासहित जल चढेपछि बिहानैदेखि नेपाल, भारतका तीर्थयात्रीहरुले बेहडाबाबाको दर्शन गरिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँले पहिलो दिन जल चढाउने र पूजाआजासहित दर्शन गर्ने कार्य भइरहेको बताउनुभयो । तीर्थालुहरुको सहजताका लागि पश्चिमबाट लाइन लगाएर पालौपालो दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । यसैगरी, अपाङ्ता भएका व्यक्ति, असहाय र वृद्धवृद्धाका लागि मन्दिरको उत्तर ढोकाबाट प्रवेश दिएर पूजाआजाको व्यवस्था मिलाइएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

जेठ २५ गतेसम्म लाग्ने मेलाको करिब एक लाख दर्शनार्थीले अवलोकन गर्ने व्यवस्थापन समितिले जनाएको छ ।

बेहडाबाबा मन्दिरमा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालको बेलाका दिन भक्तजनको भिड हुने गर्दछ । यसैगरी, साउन महिनाको सबै सोमबार भक्तजन आउने गरेका समितिले जानकारी दिएको छ ।

भारतका ग्वालाले बेहडाबाबा पत्ता लगाएका कारण यसप्रति उनीहरुको धेरै श्रद्धा रहेको र बर्सेनि पूजाअर्चना गर्न धेरै भारतीय आउने गरेको बताइएको छ । बेहडाबाबाको दर्शन र पूजाआजा गरेमा मनोकामना पूरा हुने गरेको उनीहरुको विश्वास छ । धनगढीको मुख्य गन्तव्य बनेको बेहडाबाबालाई धनगढी उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैछ ।