टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), पुस १३ गते । गुल्मीको महेन्द्र माविले छठौं फार्टिन स्टार कप जिल्लाका माद्यामिक विद्यालय स्तरीय फुटबल प्रतियोगीताको उपाधी प्राप्त गरेको छ । इस्मा गाउँपालिका–१ को बिपी पार्क खेल मैदानमा सञ्चालन भएको खेलमा महेन्द्र माविले पालुखा माविलाई २–० गोल अन्तरले पराजित गरेको छ ।
दोस्रो हाफमा महेन्द्र माविका लागि आयुस घर्ती मगर र आसम नेपालीले एक–एक गोल गर्नुभयो । फोर्टिन स्टार कप फुटवलको पहिलो, दोस्रो र तेस्रो संस्करणमा महेन्द्र माविले कब्जा गरेको थियो । फोर्टिन स्टार युवा क्लवका खेल संयोजक प्रकाश जिसीका अनुसार चौथो संस्करणमा सहरको विद्यालय महेन्द्र माविको पोल्टाबाट उपाधी खोस्न पुग्यो ।
यसले फुटवलको संभावना गाउँमा पनि रहेको पुष्टी गरेको थियो । पाँचौं संस्करणको उपाधी पनि जनसहयोगले जितेर सदरमुकामबाट बाहिर लगेको थियो । पहिलो र दोस्रो संस्करणमा रिर्डस पब्लिक हाइस्कुल, तेस्रोमा अर्जे मावि र चौथो तथा पाँचौं संस्करणमा महेन्द्र मावि उपबिजेता बनेको थियो ।
प्रतियोगिताको विजेता महेन्द्र माविले उपाधीसहित नगद ३५ हजार र उपविजेता पालुखा माविले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको जिसीले जानकारी दिनुभयो । बिजेता र उपबिजेता विद्यालयलाई इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले पुरस्कृत गर्नुभएको थियो । प्रतियोगीतामा १४ विद्यालयले सहभागीता जनाएका थिए ।
२०६७ सालमा स्थापना भएको क्लबले २०७४ बाट प्रत्येक वर्ष छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
कोभिड सङ्क्रमणको कारण दुई वर्ष प्रतियोगिता सञ्चालन हुन नसकेपनि त्यसपछिका वर्षहरुमा भने निरन्तर रुपमा प्रतियोगिता भइरहेको छ । बिद्यालय जीवनमै फुटबल खेलमा रुची भएर अवसरको खोजीमा रहेका खेलाडीहरुको पहिचान गर्न प्रतियोगीता निकै फलदायी भएको क्लबका अध्यक्ष नारायण आचार्यले बताउनुभयो । उहाँले कार्यक्रमकै क्रममा राष्ट्रिय टोलिमा सहभागी गुल्मेली महिला फुटवलर मनिषा सेनलाई नदग पाँच हजारसहित सम्मान गरिएको बताउनुभयो ।
प्रतियोगितामा महेन्द्र माविका उमेश श्रीस म्यान अफ द म्याच हुनुभएको छ । त्यसैगरी भुवन ढेँगा उत्कृष्ट खेलाडी, लभ बोहोरा वेष्ट मिड फिल्डर, गणेश मुखिया वेष्ट डिफेन्डर, निर्जल राना इमर्जिङ्ग प्लेयर हुनुभएको छ ।
त्यसैगरी उत्कृष्ट कोच जोगलाल थापा, अनुशाशित खेलाडी सिजन सारु र अनुशाशित टिम रेसुङ्गा मावि भएको क्लवका सचिव अर्जुन मरासिनीले जानकारी दिनुभयो ।
विगतका पाँच वटा संस्करणहरु चिदिचौर खेलमैदानमा सञ्चालन भए पनि यो वर्ष चिदिचौर पुनर्निर्माणको काम चलिरहेकोले प्रतियोगिता बिपी पार्कमा लैजान पर्ने अवस्था आएको क्लबले जनाएको छ ।