• २४ जेठ २०८२, शनिबार

उपकरण अभावमा बधशाला अलपत्र

blog

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा निर्माण भएको पशुबधशाला । तस्बिर : हरिप्रसाद कोइराला

हरिप्रसाद कोइराला 
उर्लाबारी ,जेठ २३ गते ।
आवश्यकता र मागभन्दा पनि लहडमा योजना छनोट गर्दा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा निर्माण भएको पशुबधशाला अझै सञ्चालनमा आउन सकेको छैन ।

कोशी प्रदेश सरकारको अनुदान सहयोगमा चार वर्ष अघि निर्माण भएको बधशाला नगरपालिकालाई हस्तान्तरण भएको थियो । तर भवन भित्र आवश्यक पर्ने उपकरण खरिद गर्ने खर्च प्रदेश सरकार र नगरपालिकाले व्यवस्थापन नगर्दा अहिले बधशाला गोठमा परिणत भएको छ ।

कोशी प्रदेश सरकारको पशुपन्क्षी निर्देशनालयको पशु बधस्थल निर्माण सुधार कार्यक्रमअन्तर्गत अनुदान सहयोगमा बधशाला निर्माण गरिएको थियो । उसबेला प्रदेश सरकारले सिधै स्थानीय सरकारलाई अनुदान दिने कानुनी व्यवस्था थियो । कोशी प्रदेश सरकारको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकृत पशुचिकित्सक डा.विनोदकुमार साहले भन्नुभयो, ‘‘हस्तान्तरण भइसकेको योजनालाई थप अनुदान दिन मिल्दैन । स्थानीय सरकारले नै बजेट व्यवस्था गरेर बधशाला सञ्चालन गर्नुपर्छ ।’’

यता पथरीशनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापो बधशालामा उपकरण खरिद नगरको प्राथमिकतामा पर्छ पर्दैन, केही भन्न नसकिने बताउनुहुन्छ । मैले एक्लै बजेट बनाउने होइन । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले बजेट निर्माण गर्ने नगरकार्यपालिका भएकाले यस विषयमा बोल्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हाम्रो अधिकार भनेको विनियोजित बजेट कार्यान्वयन गर्ने मात्र हो । बजेट हाल्ने होइन ।’’

पथरी बजारको झण्डै डेढ बिघा जग्गा छ । सोही जग्गाको गोसलाइनमा बधशाला निर्माण भएको हो ।

कोशी प्रदेशको पशु बधस्थल निर्माण सुधार कार्यक्रमको ५० लाख रुपियाँ अनुदान र छिमेकी पालिकाहरूको साझेदारीमा कूल ७५ लाख १४ हजार चार सय ५१ रुपियाँमा बधशाला निर्माण गर्ने डिपीआर बनेको थियो । तर निर्माण कम्पनी मादी आरकेडा कन्ट्रक्सन इटहरीले ५० लाख ९३ हजार पाँच सय ७९ रुपियाँमा  बधशाला(घर) निर्माण गरेर नगरलाई जिम्मा लगाएको हो ।

बधस्थलमा दैनिक ठुला पाँच वटा र साना १२ वटासम्म पशु बध गर्न र प्रशोधन गर्न सकिने छ । बधशालामा भित्र पशुको स्वास्थ्य परीक्षण, बध गरेपछि प्रशोधन, फ्रिजिङ गर्ने लगायतका उपकरण राख्न अझै १०/११ लाख रुपियाँ आवश्यक पर्ने बताइएको छ ।

प्रदेशको योजनामा नगरले वेवास्ता गर्दा चार वर्ष अघि निर्माण सम्पन्न बधशालाका झ्यालका सिसा फुट्न थालेका छन् । ग्रील भत्किएको छ भने सटरमा तीन पत्र खिया लागेको छ । रङ खुइलिसकेको छ भने भित्र घाँस पराल राख्न थालिएको छ । कुनै कोठामा सुँगुरको चारो राखिएको छ ।

पथरीबजारमा खुला रुपमा खसी, बोका, सुँगुर, बंगुर, राँगा, भैंसी काट्ने गरिन्छ । मासु व्यवसायी आशा राईका अनुसार पथरी बजारमा दैनिक सुँगुर, राँगा १५÷१६ वटा र खसी, बोका १० वटा बध हुने गरेको छ ।