अमरराज नहर्की
तनहुँ, जेठ २२ गते । कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा सुरु भएको छ । महेश सन्यास आश्रम देवघाटधाम, तनहुँको सङ्कल्प र आह्वानमा पदयात्रा सुरु गरिएको हो ।
तनहुँस्थित देवघाटधामबाट सुरु भएको पदयात्रा भई कालीगण्डकी नदीको शिर मुस्ताङ जिल्लाको दामोदरकुण्डसम्म हुने आश्रमले जनाएको छ । आगामी बिहीबार देवघाटबाट आरम्भ भएर चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर सम्पन्न हुने पदयात्राका संयोजक महेश संस्कृत गुरुकुलका आचार्य उपप्राध्यापक फणीन्द्रप्रसाद पौडेलले बताउनुभयो ।
‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य सङ्कल्प र आदर्शमा पदयात्रा हुने उहाँले बताउनुभयो । पौडेलका अनुसार कालीगण्डकी संसारकै ठुलो हिमश्रृङ्लाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने नदी हो । यसका तटवर्ती क्षेत्रहरुमा हजारौं वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । जसले गर्दा कालीगण्डकीका किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यताहरु विकसित भएका छन् ।
विश्वमा देवताको प्रत्यक्ष स्वरुप मानिने शालिग्राम यसै नदीमा मात्र उपलब्ध हुने भएकाले पुराण वाङ्मयले कालीगण्डकीलाई देवनदीका रुपमा वर्णन गरेका छन् । यसै तथ्यलाई अवलम्बन गरेर हजारौं तपस्वी ऋषिमुनिहरुले गण्डकीका पवित्र किनारहरुलाई विचार र ज्ञानसाधनाको केन्द्रकारुपमा प्रयोग गर्दै आएका छन् ।
धार्मिक, पौराणिक र आध्यात्मिक ऊर्जाका अतिरिक्त अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता र पर्वतीय जनजीवनको जीवन्त सम्पदाका रुपमा समेत गण्डकीको सेरोफेरो प्रसिद्ध मानिन्छ । साथमा यस क्षेत्रले सनातनको आस्था र विश्वासमा अडिएको नेपाली जनजीवन, सामाजिक संरचना र अर्थतन्त्रलाई गतिशील बनाउन सक्ने पर्यटकीय अथाह सम्भावना बोकेको छ । यिनै राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति र मौलिक सनातनी नेपाली गौरवलाई देशभित्र र बाहिर परिचित गराउने र आत्मगौरवले सजिएको नेपाली स्वाभिमानको पुनर्जागरण गर्ने उद्देश्यले पदयात्रा गर्न लागिएको हो । पदयात्रामा महेश सन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरिका साथमा गलेश्वर आश्रम, हरिहर संन्यास आश्रमका सन्तहरुको उपस्थिति रहनेछ भने नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरुको सहभागिता हुनेछ ।
देवघाटदेखि दामोदरकुण्डसम्मको उक्त पदयात्रा २२ देखि २५ दिनको रहनेछ । तराईदेखि पहाड हुँदै हिमालसम्मको पदयात्राको दूरी ४३१ किलोमिटर रहेको छ । महेश सन्यास आश्रमका पीठाधीश डा.स्वामी रमणानन्द गिरी महाराजको मौलिक नेपाली स्वाभिमान, संस्कार र सभ्यताप्रतिको सम्मान, समर्पण र प्रवर्धन गर्ने दृढ लगाव र विश्वासमा उक्त पदयात्रा सञ्चालन गर्न निर्णय भएको पौडेलले बताउनुभयो ।