• २३ जेठ २०८२, शुक्रबार

नेपालमा भेटियो सिस्याउने चरा

blog

लुम्बिनी केबलकार नजिकै जङ्गलमा भेट्टिएको सिस्याउने चरा । तस्बिर सौजन्य : अमृत नेपाली

गोकर्ण पौडेल 
तुलसीपुर, जेठ २२ गते ।
नेपालमा दोस्रो पटक सिस्याउने चरा भेटिएको छ । करिब दस वर्ष अघि भेटिएको सिस्याउने चरा रूपन्देही जिल्लाको लुम्बिनीकार स्टेसन नजिकै भेटिएको हो ।

नेपाल पक्षी संरक्षण सङ्घका परियोजना अधिकृत अमृत नेपालीले चरा गणनाका क्रममा जेठ १६ र १७ गते सोही ठाँउमा उक्त चरा भेटाउनुभएको हो । भारतको पश्चिमी र दक्षिणी क्षेत्रमा पाइने सिस्याउने चराले बिहानी र साँझपख निकै मधुर स्वरमा गीत गाउने परियोजना अधिकृत नेपालीले बताउनुभयो ।  

परियोजना अधिकृत नेपालीका अनुसार विगतमा यो चरा गणनाका क्रममा सूचिकृत नभए पनि यस पटक भने सूचिकृत गरिएको छ । एक पटकमा दुईदेखि तीन वटासम्म अण्डा पार्ने यो चराको भाले पोथी दुवै ओथारो बस्दछन् ।

खोला, जङ्गलमा बस्ने यो चराको आहारा कीरा, फट्याङ्ग्रा र फलफूल हो । परियोजना अधिकृत नेपालीका अनुसार यो चरा एक्लै बस्न मन पराउँछ, भने मानिसको जस्तै स्वरसमेत निकाल्ने गर्दछ । यसै कारण यसलाई सिस्याउने विद्यार्थीसमेत भन्ने गरिएको छ  । यो चराले पर्खाल, ढुङ्गाको कापका बिचमा गुँड लगाउने गर्दछ ।