चाँदनी आचार्य
घोडाघोडी(कैलाली) जेठ २३ गते । कैलालीको चुरे क्षेत्रअन्तर्गत पर्ने मोहन्याल गाउँपालिकाका वडा नम्बर १ कोपिला सामुदायिक वनमा जोडिएका उपभोक्ता महिलाहरु खाना पकाउने ईन्धनको रुपमा ग्यास चुलो पाएपछि खुशीले दङ्ग परेका छन् ।
सधैँ खाना पकाउने दाउराको जोहो गर्न वन जङ्गल धाउनुपर्ने समस्या अब ती महिलाहरुका लागि हटेको छ । “ग्यास चुलो पाएपछि अब कसले दुःख गर्छ र बर्खामा भिजेका दाउँरा नबल्दा खाना पकाउन कम्ति दुःख हुन्थ्यो”, ग्यास चुलो पाएपछि खुशी हुँदै मनसरा थापाले भन्नुभयो “हामीले वन जोगाए बापत आएको आम्दानीबाटै ग्यास चुलो पाएका हौँ ।”
मनसरासँगै ग्यास चुलो पाएका तारा शर्मा समेत खुशी हुनुहुन्छ । उहाँले गाउँमा एकाधले मात्र ग्यास बाल्ने भए पनि सामुदायिक वनबाट निःशुल्क ग्यास चुलो पाएपछि दाउराका लागि वनमा धाउनु पर्ने बाध्यता हटेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “ग्यास चुलोमा खाना पकाउदा अब समयको पनि बचत हुने भयो, धुवाँले असर गर्ला भन्ने पनि पिर पनि भएन ।”
मनसरा र तारा जस्तै उक्त सामुदायिक वनमा जोडिएका एक सय ४८ जना उपभोक्ताले सात हजार बराबरको ग्यास चुलो निःशुल्क पाएका छन् ।
कोपिला सामुदायिक वनले ढलापडा काठ बेचेर आम्दानी गरेको रकमले उपभोक्तालाई ग्यास चुलो वितरण गर्ने निर्णय गरेको हो ।
वन जोगाउने उद्देश्य र उपभोक्ताको स्वास्थ्य सुलभताका लागि ग्यास चुलो वितरण गरिएको वनका अध्यक्ष गणेशबहादुर बुढा मगरले बताउनुभयो ।
उहाँले आम्दानी दिने वनलाई संरक्षण गर्न उपभोक्ताको दायित्व रहेको उल्लेख गर्नुहुँदै उपभोक्ताले ग्यास चुलो प्रयोग गरेपछि दाउराका लागि वनमा आश्रित हुन नपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सामुदायिक वनमा दाउरा सङ्कलन गर्दा वन फडानी गर्ने, गोलियाहरू टुक्राउने कार्य रोक्न एक सय ४८ जना उपभोक्तालाई १० लाख ३६ हजार रुपियाँ बराबरका ग्यास चुलो वितरण गरिएको छ ।”
सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा समेत काम गर्दै आएको यस वनले बाख्रा वितरण, मिटर बक्स वितरण, खानेपानी मर्मत, सडक ग्राभेल, सिँचाइ, विपन्न बिरामी सहयोग कार्यक्रम, शैक्षिक छात्रवृत्तिलगायतका काम समेत गर्दै आएको छ ।
तराई र चुरे पहाडको भावर क्षेत्रमा रहेको उक्त सामुदायिक वनले वैज्ञानिक वन कार्यक्रमबाट काठ बिक्री गरी राम्रो आम्दानी गरेको छ । वनका अध्यक्ष बुढा मगरले वैज्ञानिक वनको काठ बिक्रीबाट ३० लाख रुपियाँ बराबरको लागतमा सामुदायिक वनको भवन बनाउनुका साथै समुदायीक उत्तरदायित्वअन्तर्गत खानेपानी मर्मतलगायतका काममा खर्च गरेको जानकारी दिनुभयो ।