• २४ जेठ २०८२, शनिबार

बन्द हुँदै जडिबुटी प्रशोधन केन्द्र

blog

गेरुवा गाउँपालिका वडा नं १ थापापुरमा रहेको जडिबुटी प्रशोधन केन्द्र । तस्बिर: यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा
गुलरिया(बर्दिया), जेठ २३ गते ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बनाइएका लाखौँ मूल्य बराबरका जडिबुटी प्रशोधन केन्द्रहरु अलपत्र परेका छन् । निकुञ्ज र जैविक मार्ग क्षेत्रमा उत्पादन भएको जडिबुटी प्रशोधन गर्न स्थापना गरिएका प्रशोधन केन्द्रहरू प्रयोग नभएर जीर्ण बनेका हुन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्र र खाता जैविक मार्गमा किसानहरूले लगाएको धान गहुँ मकै तोरी मसुरो लगायतका बालीहरू जङ्गली जनावरले क्षति पुर्याउने गरेको थियो । त्यही क्षतिलाई न्यूनीकरण गर्नका लागि वैकल्पिक जडिबुटी खेतीको सुरुवात गरिएको थियो । जडिबुटी प्रशोधनका लागि लाखौँको लगानीमा प्रशोधन केन्द्रको स्थापना गरिएको थियो । तीनै प्रशोधन केन्द्र अहिले खण्डहर बनेका छन् । ससाना प्रशोधन केन्द्रहरू कामै नलाग्ने गरी नष्ट भएका छन् भने निकुञ्ज आसपासका तीन वटा मुख्य ठुला प्रशोधन केन्द्रहरू मर्मत सम्हारको अभावमा त्यसै थन्किएका छन् ।

विशेषगरी मध्यवर्ती क्षेत्रमा मेन्था, क्यामोमाइल, लेमनग्रास, सिट्रोनेला लगायतका जडिबुटी प्रशोधन गर्नका लागि स्थापना गरिएका थिए । त्यसमध्ये बर्दियामा मेन्था र क्यामोमाइलको खेती हुने गरेको थियो । खाता जैविक मार्ग र निकुञ्जका मध्यवर्ती क्षेत्रमा मेन्था र क्यामोमाइलको मिठो बास्ना आउने गर्दथ्यो । तर अहिले जडिबुटी खेती हुनै छाडेको छ ।

सुरु सुरुमा राम्रो मूल्य आउने गरेपनि पछिल्लो समयमा मूल्य नै नपाउने र बिक्री नै नहुने हुनाले मेन्था र क्यामोमाइलको खेती गर्न छोडेको मधुवन नगरपालिका वडा नं १ पूर्व वडाध्यक्ष एवम् कृषक परशुराम चौधरीले बताउनुभयो । गाउँमा जडिबुटि खेती गर्न लागेपछि विदेश गएका युवा समेत फर्किएका थिए । उहाँले भन्नुभयो, ‘‘राम्रो बजार व्यवस्थापन नहुँदा फेरी कोही विदेश त कोही भारत तिर पलाएन भएका छन् ।’’

शिव बहुउद्देश्यिय सहकारीका अध्यक्ष सिताराम चौधरीले मूल्य कम हुँदा कृषकहरूले नै जडिबुटी खेती गर्न छाडेको बताउनुभयो । उहाँले पहिले २५ सय प्रति केजीमा बिक्री हुने तेल अहिले १५ सयमा पनि मुस्किलले बिक्री हुने भएकाले पनि कृषकहरूले खेती गर्न छोडेको बताउनुभयो ।

१५ वर्ष अगाडि राष्ट्रिय प्रकृति संरक्षण कोष, तराई भु परिधि कार्यक्रम, डब्लु डब्लु एफ र बर्दिया एकीकृत संरक्षण कार्यक्रम लगायतका संघ संस्थाहरूले जडिबुटी खेती प्रवर्धन र प्रशोधन केन्द्रको स्थापना गरेका थिए । तत्कालीन समयमा जडिबुटी खेतीका लागि मल र बिउ वितरण, खेती प्रविधिको लागि तालिम र प्रशोधन केन्द्र स्थापना लागि करोडौँ रकम खर्च भएको थियो । बजार व्यवस्थापनका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्पर्क समन्वय भएको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख एवम् उज्यालो नेपालका संरक्षण अभियन्ता रमेश थापाले सुरुमा संघसंस्थाको पनि सहयोग र बजार मूल्य राम्रो भएकोले जडिबुटी खेती राम्रो भएको बताउनुभयो । अहिले संस्थाका परियोजना बन्द हुँदै गएको र बजार मूल्य नपाएको कारणले जडिबुटी खेती घटेको बताउनुभयो । तत्कालीन समयमा बनाएका प्रशोधन केन्द्रहरु खण्डहर बन्दैको उहाँले बताउनुभयो ।