• २६ मंसिर २०८०, मङ्गलबार

'ऐना झ्यालको पुतली' : गाउँले किशोरीको अधूरो सपना

blog

काठमाडौं, भदौ २६ गते । सुजित बिडारीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’ले सबैको मन जित्न सफल भएको छ । एक सिसाको बोतलमा बन्द भएको पुतलीलाई खुला आकाशमा उडाएको प्रतीकात्मक दृश्यबाट सुरु हुन्छ फिल्म ‘ऐन झ्यालको पुतली’ । 

फिल्ममा धेरै पढेर ठूलो मान्छे बन्ने एक किशोरीको सपनालाई ऐना झ्यालमा अड्किएको पुतलीसँग जोडिएको छ । निर्देशक बिडारीले चलचित्रमा गाउँले परिवेश र रहनसहनलाई निकै मनछुने गरी दृश्यमा रूपान्तरण गर्नुभएको छ।

दुई दिदीभाइको कथामा घुमेको चलचित्रमा युवा अवस्थामा मनमा जाग्ने रहर र आकाङ्क्षासँग बाँडिएका कथा हेर्न सकिन्छ । दिदी विद्या (कञ्चन चिमरिया) लाई गाउँबाहिर गएर राम्रो विद्यालयमा माध्यमिक तहमा भर्ना हुने र पढेर ठूलो मान्छे बन्नुछ तर त्यसका लागि घरका विभिन्न समस्याले उनको सपना अधूरै रहन्छ । जुन गाउँघरका प्रायः किशोरीले भोग्नुपरेको पीडासँग जोडिएको छ ।

फिल्ममा विशेषगरी गाउँघरका एक श्रीमतीले घर व्यवहार सम्हाल्नका लागि गर्नुपरेको मिहिनेत र चुनौतीलाई निर्देशक बिडारीले प्रस्तुत गर्नुभएको छ ।

बुसान, ढाका, फ्रिबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथा पेस गर्छ जुन परिवार अर्थ अभावका कारण छोरीलाई माध्यमिक शिक्षा दिन पनि सङ्घर्ष गर्छ । योबाहेक फिल्मले बाल्यकाल र योसँग स्मृतिका कथा पनि पेस गर्छ ।

नेपाली महिलाले विवाहपछि भोग्नुपरेका चुनौती र दुःखलाई फिल्ममा सरल र सही ढङ्गमा देख्न सकिन्छ । हामीले फिल्ममा घरघरको यथार्थ पाउन सक्छौँ ।

नेपालको विकट ठाउँमा अझै पनि महिनावारीलाई ठूलो समस्या मानिन्छ । यस अर्थमा चलचित्रमा कुनै किशोरी महिनावारी हुँदा १० दिनसम्म केटा मान्छेलाई हेर्न नहुने, घरबाट टाढा छुट्टै एक्लै कोठामै थुनिनुपर्ने लगायत यस्तो अवस्थामा आफूप्रति भाइले देखाउने माया र सद्भावलाई दृश्यमा देख्न सकिन्छ ।

फिल्म हेर्दै गर्दा प्रायः दर्शकको बाल्यकाल र गाउँघरको सम्झना ताजा भएका छन् । ९० मिनेट लामो यस चलचित्र हेरेर धेरैले आफ्नो बाल्यकाल सम्झेर हाँसोसँगै आँसु पनि पोख्नु भएको छ । फिल्ममा गाउँमा हुर्किँदै गरेको त्यो बालापन र काठमाडौं गएर धेरै पैसा कमाउने सपना जुन हरेक युवाले देख्ने गर्छन्, त्यसलाई प्रस्तुत गरिएको छ ।

परिवारको कथामा एक किशोरीले गरिबीको कारण आफ्नो पढाइलाई निरन्तरता दिन नसकेको जसको अन्तिम रूप विवाहमा परिणत भएको छ । मनमा पढ्ने चाहना हुँदाहुँदै त्यसलाई त्यागेर बेहुली बन्नुपर्ने अवस्थालाई फिल्मले बलियो प्रस्तुति दिएको छ ।

ऐना झ्यालको पुतली, चलचित्र सुरु हुनुअघिसम्म सबै दर्शकको मनमा यी तीन शब्दले नै कौतूहल उत्पन्न गर्छ । यसबाहेक, फिल्ममा गाउँघरमा पैसा तिरेर फिल्म देखाउने चलनलाई देखाइएको छ । गाउँघरमा कुनै एक गन्यमान्य वा आर्थिक अवस्था राम्रो भएको घरमा मात्र टेलिभिजन हुने गर्ने दिनलाई समेटिएको छ ।

फिल्म र्हैदै गर्दा धरै दर्शकले आफ्नो गाउँमा बिताएका बाल्यकाललाई सम्झिँदै नोस्टाल्जिक भएका छन् । फिल्मको ‘मेरो गाउँ ज्यामिरे’ गीतले पनि दर्शकलाई नोस्टाल्जिक बनाऔें भन्ने निर्देशक बिडारीको उद्देश्य हो । किनकि यो फिल्म नै एक प्रकारको नोस्टाल्जिया रहेको उहाँको भनाइ छ ।

फिल्मलाई आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र सुजित बिडारी स्वयं मिलेर निर्माण गर्नुभएको हो । फिल्ममा सिरु बिष्टबाहेक पहिलो पल्ट अभिनय गर्ने कलाकारको बाहुल्य रहेको छ । फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटी आदिको अभिनय देख्न सकिन्छ ।

Author
सनम महर्जन

उहाँ कला, संस्कृति र मनोरञ्जन विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।