काठमाडौँ, भदौ २५ गते । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा कहीँकतै छोए वा भुइँ टेकिएमा अनुत्तीर्ण भइन्छ भन्ने चिन्ता नलिए हुन्छ। यस्तो परीक्षामा कम्तीमा ७० अङ्क प्राप्त गर्नुभएमा मजाले लाइसेन्स हात पर्नेछ।
बागमती प्रदेशमा आगामी असोज १ गतेबाट सवारी चालक अनुमतिपत्रको परीक्षामा नयाँ मापदण्ड लागू हुँदै छ। नयाँ मापदण्डअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था गरिएको छ। यसबाट पटक–पटक अनुत्तीर्ण भई लाइसेन्स प्राप्त गर्न नसकेकाहरूका लागि राहत हुने भएको छ।
बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले नयाँ मापदण्ड कार्यान्वयनको तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सम्भवतः पाँचवटै यातायात कार्यालयबाट नयाँ निर्देशिका अनुसार परीक्षा सञ्चालन गर्नेछौँ। भ्याउने अवस्था नरहेमा असोज १ गतेबाट दुई वा तीनवटा कार्यालयमा नयाँ व्यवस्थाअनुसारको परीक्षा सञ्चालन गरिनेछ।” बागमती प्रदेशमा पाँचवटा यातायात कार्यालय छन्।
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका अनुसार परीक्षामा मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको ट्रायललाई सहज बनाइको छ। सो व्यवस्थाअनुसार घुमाउरो (अङ्ग्रेजीको आठ)मा एक पटकसम्म रेखा छोएमा अनुत्तीर्ण हुनुपर्ने छैन। रेखा छोएमा पाँच अङ्क घट्नेछ। त्यस्तै एक पटक खुट्टाले भुइँमा टेके पनि अनुत्तीर्ण हुने अवस्था रहनेछैन। त्यस्तो स्थितिमा थप पाँच अङ्क घट्नेछ। युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अङ्क घट्नेछ। ट्राफिक सङ्केत पालना नगर्दा १५ अङ्क घट्नेछ। “सबैमा अङ्क घट्दै गएर ७० भन्दा कम आएमा मात्र लाइसेन्स पाउन योग्य मानिने छैन,” उहाँले भन्नुभयो।
खाल्टाखुल्टीमा एक पटकसम्म भुइँमा टेकेमा पाँच अङ्क घट्ने छ। एक पटक सवारीको स्टार्ट बन्द भए पाँच अङ्क घट्नेछ। सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाको सामान्य निरीक्षण नगरे तीन अङ्क घट्नेछ। हेलमेटको लक नलगाई सवारी चलाएमा चार अङ्क घट्नेछ। विगतमा भने यी व्यवस्थामध्ये कुनै एउटा गल्ती गरे अनुत्र्तीण गरिन्थ्यो।
मन्त्रालयका प्रवक्ता पोखरेलले लिखित परीक्षामा पहिलाकै व्यवस्था कायम गरिएको जानकारी दिनुभयो। लिखित परीक्षाका लागि पाँच सयवटा प्रश्न समावेश गरिएको दुईवटा प्रश्न सङ्ग्रह यातायात व्यवस्था विभागले सार्वजनिक गरिसकेको छ। लिखितमा तिनै प्रश्नबाट एक सय पूर्णाङ्कको प्रश्न सोधिनेछ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                