• १४ कात्तिक २०८२, शुक्रबार

प्रहरी चौकी आक्रमणमा संलग्न सात जना पक्राउ

blog

बोमलाल गिरी
नवलपुर, कात्तिक १४ गते ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरको हुप्सेकोट प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हुप्सेकोट गाउँपालिका–१ का ३७ वर्षीय नरबहादुर विक, सोही ठाउँका ३२ वर्षीय चुमबहादुर राना, ४२ वर्षका मिनबहादुर थापा, ३८ वर्षका अमरबहादुर कामी, १८ वर्षका ईश्वर सिंह ठकुरी, १९ वर्षका होमबहादुर थापा क्षेत्री र ३८ वर्षका सोवालाल थापा रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिनुभयो ।

आन्दोलनका क्रममा हुप्सेकोट गाउँपालिका–१ बेलुवास्थित प्रहरी चौकीमा अनधिकृत रूपमा प्रवेश गरी कार्यालय भवन र सवारीसाधनमा तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएको घटनामा उनीहरू संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

उनीहरूलाई  नवलपुर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार जेनजी आन्दोलनका क्रममा नवलपुरमा नीजि आवास भवन २० वटा, तीन वटा पालिका र ६ वटा वडासहित नौ वटा स्थानीय तहका भवन, पार्टी कार्यालय १६ वटा, दुईवटा प्रहरी चौकी, व्यवशायिक भवन दुई वटा गरी ५० वटा भवनमा आगजनी र तोडफोड भएको थियो ।