अमरराज नहर्की
तनहुँ, पुस १३ गते । तनहुँ, चितवन र नवलपुर जिल्लाको सङ्मस्थल एवम् प्रसिद्ध तीर्थस्थल देवघाटधामलाई ‘प्लास्टिकमुक्त क्षेत्र’ घोषणा गरिएको छ । पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गम (वेणी) रहेको यस क्षेत्रको धार्मिक गरिमा र वातावरणीय स्वच्छतालाई अक्षुण्ण राख्न देवघाट क्षेत्र विकास समितिले यो ऐतिहासिक अभियानको थालनी गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले शुक्रबार देवघाटमा आयोजित कार्यक्रमका घोषणा गर्नुभयो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले देवघाटको आध्यात्मिक ओज जोगाउन यो निर्णय कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । “देवघाट करोडौँ भक्तजनको आस्थाको केन्द्र हो,’’ उहाँले भन्नुभयो, “पवित्र नदी र तपोभूमिलाई प्रदूषणबाट बचाउनु हामी सबैको साझा दायित्व हो । यस अभियानलाई सफल पार्न महानगरपालिकाले आवश्यक बजेट र स्रोतको पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’’
सोही कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले प्लास्टिक निषेधसँगै यसको वैज्ञानिक व्यवस्थापनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । देवघाटलाई केवल प्लास्टिक निषेधित क्षेत्र मात्र नभई पूर्ण रूपमा दुर्गन्ध रहित क्षेत्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “स्थानीय सरकारले आवश्यक कानुन निर्माण गरेरै यो अभियानलाई कार्यान्वयनमा लैजानुपर्छ,’’ अध्यक्ष थापाले भन्नुभयो, “देवघाटको पवित्रता जोगाउन गाउँपालिकाले गर्नुपर्ने सबै प्रकारका सहयोग र समन्वयका लागि हामी पूर्ण रूपमा तयार छौँ ।’’
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीराज लौडारीले तीर्थाटनको आध्यात्मिक मूल्य जोगाउन प्लास्टिकको प्रयोगमा कडाइ गरिएको जानकारी दिनुभयो । समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार अब देवघाट क्षेत्रभित्र एक पटक प्रयोग हुने प्लास्टिकका झोला, पातला बोतल र प्लास्टिकका भाँडाहरूको प्रयोगमा पूर्ण रोक लगाइनेछ । यस घोषणालाई सफल बनाउन चितवन, तनहुँ र नवलपुरका स्थानीय तहहरूका साथै ’सहमति संस्था’ र अन्य १३ वटा सङ्घ–संस्थाहरूले समेत ऐक्यबद्धता जनाएका छन् । यस अभियानले देवघाटलाई विश्वकै एक नमुना र स्वच्छ धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।