सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) कात्तिक १४ गते । केही दिनदेखि परेको अविरल वर्षाका कारण धनकुटाका मुख्य तीन राजमार्ग अवरुद्ध भएका छन् । वर्षासँगै खोलामा बाढी आएको र सडक माथिबाट झरेको पहिरोले सडक पुरिएरको साथै पहिरोले बगाउँदा सडक अवरुद्ध भएका हुन् ।
वर्षाका कारण तमोर–करिडोर क्षेत्रमा पर्ने पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ को सिमानामा बग्ने नावा खोलामा गएरातीदेखि परेको वर्षाले खाेलामा बहाव बढेपछि दुईतर्फ सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । जसका कारण धनकुटाको तमोर–करिडो सडक खण्ड अन्तर्गत धनकुटाको मूलघाट हुँदै, पाँचथर र ताप्लेजुङ जाने यातायतका सधान चल्न सकेका छैनन् । यस्तै उक्त सडक खण्डमा पाँचथरतर्फ ३ र धनकुटातर्फ ४ वटा ट्रक रोकिरहेको प्रहरीले जनाएको छ ।
यस्तै, भेडेटार–रविराँके सडक अण्ड अन्तर्गत धनकुटाको साँगुरीगढी गाउँपालिका–५, स्थित लुम्फाजुङमा सडक भासिएर अवरोध भएको छ । अविरल वर्षाका कारण निर्माणाधीन रविराँके सडक करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ । यस्तै सेही स्थानमा माथिबाट ढुङ्गा र माटोको पहिरो झरी सडक अवरुद्ध भएको कारण उक्त सडक खण्ड दुबैतर्फ यातायातका साधन अवरुद्ध भएका छन् । वर्षाका कारण सडक अवरुद्ध भएपछि भेडेटार हुँदै धनकुटाका विभिन्न स्थान र पाँचथरको रवि राँकेसम्म जाने यातायातका साधन चल्न सकेका छैनन् ।
अविरल वर्षासँगै आएको बाढी पहिरो र खोलामा पानीको बहाव बढेपछि तमोर–करिडोर सडक खण्ड र भेडेटार–रविराँके सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । यस्तै धरान धनकुटा सडक खण्ड अन्तर्गत सँगुरीगढी गाउँपालिका–६,चारखोले गोलाईस्थित कोशी लोकमार्गमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । उक्त सडक एकतर्फी साना सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट प्रहरी महेश भट्टराईको कमाण्डमा ७ जना प्रहरी टोली खटी सडक खुलाउने पहल सुरु भएको प्रहरीको भनाइ छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                