• १४ कात्तिक २०८२, शुक्रबार

राउण्ड धवलागिरीमा अलपत्र १५ जना पर्यटकको उद्धार

blog

धौलागिरि हिमाल । तस्बिर : नेपाली सेना

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक १४ गते । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी हुँदै राउण्ड धवलागिरी पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको उद्धार टोलीले फेला पारेको छ । 

धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए ।  

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितको संयुक्त उद्धार टोलीले शुक्रबार बिहान फेला पारेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘१२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनासहितको टोली भेट भएका छन् । आज बिहान उनीहरुले सामूहिक रुपमा लन्च पनि गरे । पर्यटकको स्वास्थ्य अवस्था पनि राम्रो छ । अहिले याकखर्क भन्ने ठाउँमा आउन लागेका छन् ।’’ 


पर्यटकको उद्धारका लागि परिचालन भएको संयुक्त सुरक्षाकर्मीको टोलीलाई उहाँले धन्यवाद  दिनुभयो । हिमपात भइरहेकाले पदयात्रामा गएका पर्यटक समस्यामा परेको खबर प्राप्त भएपछि मुस्ताङबाट सुरक्षाकर्मीको उद्धार टोली परिचालन भएको थियो । 

उहाँका अनुसार पदयात्रीहरु सोमवार साँझदेखि ‘हिडन भ्याली’ मा परेको बाक्लो हिउँमा फसेका थिए । सो स्थान हिडन भ्याली धवलागिरी र सीता हिमाल बिचको पास काटेर तल टुक्चेपीको पछिल्लो पाखामा समुद्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्दछ ।