• १४ जेठ २०८१, सोमबार

जोखिमपूर्ण व्यवसायमा भैँसीपालक किसान

blog

भैँसीसँगै दाङको राप्ती नदी पार गर्दै भैँसीपालक किसान । तस्विर –दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, भदौ २२ गते । राप्ती नदीको बगरमा घाँस भएकाले किसानहरू झोलुङ्गे पुल तरेर त्यहाँ पुग्छन् तर भैँसी झोलुङ्गे नदीमा डुबुल्की मार्दै पुग्छन् । दाङको लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर, कश्यपुर, खैरी, ढिकपुरको हो । 

बिहान १० बजेपछि रामबहादुर चौधरीले पाल्नुभएका भैँसी कराउन सुरु गर्छन् । भैँसीलाई राप्तीपारी बगरमा चर्न जाने बानी परेको छ । नदी आइसकेपछि कपडा खोलेर उहाँले टाउकोमाथि राखेर भैँसीसँगै पुच्छर समाएर खोला तर्नुहुन्छ । दिनभरि बगरमा चराएपछि साँझ बिहानै जस्तै गरी पुनः नदी तरेर फर्कनुहुन्छ । उहाँको यो जोखिमपूर्ण दैनिक निरन्तर जारी छ । उमेरले ६० वर्ष पुग्नुभएका रामबहादुर पौडिने कलामा सिपालु हुनुहुन्छ ।


सानो नदीमा पौडिने सके पनि कहिलेकाहीँ नदीमा बाढी आउँदा समस्या हुने गरेको चौधरीको अनुभव छ । उहाँ भन्नुहुन्छ, ‘भैँसीसँगै जानुपर्छ, नजाँदा धेरै तल पुग्छन् गन्तव्यमा पु¥याउन पनि माउ भैँसीको पछि लागेर सबैलाई केन्द्रित गराउनुपर्छ ।’

उहाँ जस्तै सोही ठाउँका श्यामबहादुर चौधरीको दैनिकी पनि उस्तै छ । भैँसी धेरै भएकाले घाँस काट्न समस्या हुने र दिनभर चराएपछि धेरै घाँस काट्नु नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नदीवारि बगर छैन, व्यक्तिको जग्गा छ, धान मकै खेती गरेका छन्, बगर खाली छैन पारी बगर खाली छ घाँस छ, त्यही भएर नदीपारि जाने गर्छौ ।’ यी दुई चौधरी मात्रै होइन लमही नगरपालिका, राप्ती गाउँपालिकामा भैंसीपालक किसानहरू धेरैको अवस्था यस्तै हो । 

लमही नगरपालिकाको केन्द्रबिन्दु लमही बजार हो । लमही मात्रै होइन दाङका धेरैजसो बजारमा देउखुरी क्षेत्रबाट दूध पुग्छ । लमही नगरपालिका ६ खैरी, मध्यनगर, ढिकपुर, लङ्गढी, कश्यपुर गाउँ लमहीबाट नजिकै रहेकोले बजार दूध पु¥याउन सहज हुन्छ । यही कारण पनि बजार आसपासका गाउँमा पशुपालन व्यवसाय गर्छन् । यहाँका किसानहरू भैँसीपालन व्यवसायमा अझै पनि व्यावसायिक बन्न सकेका छैनन् ।


घाँस उत्पादन आफैँ गर्ने जग्गा जमिन छैन । सामान्य आर्थिक अवस्था रहेका किसानहरूले पालन गरेका भैँसीको लागि दाना खरिद गरेर खुवाउने भन्दा चराउन रुचाउँछन्, उनीहरू । ‘दाना महँगो छ, दाना किन्ने हो भने लगानी नउठ्ने समस्या छ, त्यसैको लागि दिनभर चराएर भैँसी अघाउनुको विकल्प छैन, रामबहादुर भन्नुहुन्छ ।’

किसानले हिउँदको समयमा सजिलै नदी तर्न सके पनि वर्षाको समयमा धेरै समस्या रहेको किसानहरूको भनाइ छ । किसानले मध्यनगर क्षेत्रमा पक्की पुलको व्यवस्था भए वर्षाको समयमा जोखिम मोलेर ग्वाला जानु नपर्ने र आफूहरूलाई सहज हुने उहाँहरूको भनाइ छ ।

उक्त क्षेत्रमा तीन वर्ष पहिले झोलुङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका नागरिकले केही हदसम्म सुविधा पाएका छन् । ठूला सवारी साधन आवतजावतमा समस्या भए पनि पैदलयात्रु, साइकल, मोटरसाइकल पार गर्न सहजता भएको छ ।