• २२ असार २०८१, शनिबार

करोडौँको बहुप्राविधिक भवन प्रयोग विहीन

blog

निर्माण भएर सञ्चालनमा नआएका भवनहरू । तस्बिर: राजन रावत

हुुम्ला, भदौ २० गते । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा दुई वर्ष अगाडी बहुप्राविधिक धारका लागि जिल्लामा भौतिक संरचना निर्माण भएपनि  पढाई भने सुरु हुन सकेको छैन । एक करोड बीस लाख खर्च गरेर भवन निर्माण भएपनि पढाइ सुरु नहुँदा राज्यको लगानी खेर गएको छ । 

मानसरोवर नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बहुप्राविधिक धार सञ्चालन गर्न भवन निर्माण गरिएपनि थप कार्यक्रम नआएको कारण हालसम्म पढाइ सुरु गर्न नसकेको बताउनुभयो । उहाँले उक्त भवन इन्जिनियरी धारतर्फको पठनपाठन सुरु गर्न निर्माण गरिएको भएपनि उक्त प्राविधिक धार सञ्चालन गर्न अन्य कार्यक्रम नआएको कारण त्यतिकै रोकिएको बताउनुभयो । कार्यक्रमका स्वरूप भवन निर्माण पछि बहुप्राविधिक धारको पठनपाठन गर्न सहयोग गर्ने रहेको थियो । तर भवन बाहेक कक्षा सञ्चालनका लागि अन्य कार्यक्रम नआउँदा कार्य अगाडी नबढेको हो ।

सामाजिक विकास कार्यालयका सव इन्जिनियर धर्मराज बोहराले दुई वर्ष अगाडी बहुप्राविधिक धारका लागि एक करोड बीस लाख लागतमा चार ब्लक भवन निर्माण गरिएको बताउनुभयो । कुल बजेटमा डिपिआर तयारी, प्रदेश सरकारको अनुदान र विद्यालय व्यवस्थापन समितिका जनश्रमदान समेत रहेको छ । ती भवनमा ११ वटा कोठा रहेका छन् । भवन निर्माणका लागि पाँच लाखको डिपिआर समेत निर्माण भएको थियो । 

यसका लागि प्रदेश सरकारबाट ९५ लाख लगानी भएको छ भने बीस लाख रुपियाँ जनश्रमदानमा भवन निर्माण भएका हुन । भवन खाली भएपछि विद्यालयले कोरोनाको समयमा एउटा भवन सशस्त्र प्रहरी र अर्को भवन हिमाली बहिरा तथा बौद्धिक अपाङ्गता आवासीय विद्यालयलाई भाडामा दिइएको थियो । भवन विद्यालय व्यवस्थापन समितिले निर्माण गरेको हो ।

प्रदेशबाट अन्य कार्यक्रम नआएपछि त्यसअघि विद्यालयमा सञ्चालन हुँदै आएको सिटिभिटी अन्तर्गतको डिप्लोमा इन्जिनियरीङको पठन पाठन र विद्यार्थीहरूका लागि होस्टेल सञ्चालन गर्ने तयारी विद्यालयले गरेको छ । विद्यालयले हाल विद्यालयको दुई वटा कोठामा उक्त विषय अध्ययन भई रहेको जनाएको छ । एकातिर साँघुरोमा कक्षा सञ्चालन भई रहेको र अर्कोतर्फ बनेका भवन खाली रहेपछि त्यसको सदुपयोग गर्नेतर्फ विद्यालय लागेको हो ।