• १२ वैशाख २०८१, बुधबार

एमाले अछामबाट रावल र बोगटीको नाम सिफारिस

blog

शिवराज ढुंगाना 

अछाम, भदौ १९ गते । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) अछामले प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको अछाममा दुवै क्षेत्रबाट आगामी निर्वाचनको उम्मेदवार सर्वसम्मत रूपमा एकल नाम सिफारिस गरेको छ । दलको सम्बन्धित क्षेत्र समन्वय समितिले प्रतिनिधिसभाको अछाम –१ मा डा. भीमबहादुर रावल र क्षेत्र नं. २ मा यज्ञबहादुर बोगटीको नाममा एकल रूपमा सिफारिस गरेको हो । रावल र बोगटी सोही क्षेत्रका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । 

चार वटा प्रदेश निर्वाचन क्षेत्रमा भने सहमति सर्वसम्मत हुन सकेन । अछाम –१ को (क) र (ख) प्रदेशमा चार–चार जनाको सिफारिस भएको छ । यस्तै, अछाम –२ को (क) बाट सात जना र (ख) बाट आठ जनाको नाम सिफारिस भएको एमाले अछामका उपसचिव डम्बर बिसीले जानकारी दिनुभयो । 

अछाम –१ को (क) प्रदेश निर्वाचनमा प्रतक्ष्यतर्फ प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरिएको छ । अछाम –२ को (ख) बाट कृष्णप्रसाद जैसी, केशरबहादुर साउँद, डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपानेको नाम सिफारिस भएको छ । 

अछाम –२ को (क) बाट सात जना र (ख) बाट आठ जनाले प्रदेशको प्रत्यक्षतर्फको उम्मेद्वार हुन आवेदन आएपछि सोहीअनुसार सिफारिस गरिएको सो दलले जनाएका छन् । अछाम –२ को (क) प्रदेश निर्वाचनमा प्रत्यक्षतर्फ बमबहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्दसिंह चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम आएको छ । 

अछाम–२ को (ख) मा  शिवप्रसाद उपाध्याय, भीम जनला, कृष्ण साउँद, चन्द्रबहादुर बोहरा, भीम रावल (कालोटोपी), टोपबहादुर शाही, दीपक अधिकारी, लिलाराज केसीको नाम सिफारिस गरिएको एमाले अछामले जानकारी दिएको छ । 

सङ्घीय र प्रदेशको प्रत्यक्ष र समानुपातिक सूची सोमबार जिल्ला कमिटीले तयार पारेर प्रदेश कमिटीमा पठाउने बताइएको छ । नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) ले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ ।