• १२ साउन २०८१, शनिबार

आलु उत्पादन बढ्यो तर, बजार तथा भण्डारणको चिन्ता

blog

पुथाउत्तरगङ्गा–१० तकका कृषकले उत्पादन गरेको आलु । तस्विर सौजन्यः मैत्या घर्ती मगर

जयमान बुढामगर

रुकुमपूर्व, भदौ १९ गते । जिल्लामा यस वर्ष आलु राम्रो उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष आलु धेरै फलेको हो । जिल्लाको भूमे र सिस्ने गाउँपालिकाको तुलनामा पुथाउत्तरगङ्गा गाउँपालिकामा धेरै आलु खेती गर्ने गरेका छन् । यहाँका किसानको बर्खायामको मुख्य बाली उत्पादन मकै, आलु र सिमी रहेको छ ।

पालिकामा पहिलो पटक समूहमार्फत् व्यावसायिक आलु उत्पादनमा लागेका चेबाङ कृषक समूह पुथाउत्तरङ्गा–१० तकका किसानहरूलाई बजार तथा भण्डारणको चिन्ता लागेको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत समूह बनाएर ६ हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु उत्पादन गरेको समूहका अध्यक्ष मनकुमारी रोकामगरले जानकारी दिनुभयो । थबाङ्गी स्थानीय र जनकदेव जातका करिब चार क्विन्टल बीउ लगाइएको थियोे ।

आलु खन्ने क्रम जारी रहेकाले गाउँभर करिब दुई सय मेट्रिकटन सम्म आलु उत्पादन हुने अनुमान गरिएको कृषक समूहका अध्यक्ष रोकाले बताउनुभयो । एक हेक्टरमा २० देखि २५ मेट्रिकटन आलु उत्पादन हुने आकलन गरिएको रोकाको भनाइ रहेको छ । 


आलु खन्ने क्रम जारी रहेकाले अहिले नै ठ्याक्कै यकिन भन्न नसकिने अवस्था रहेको छ ।  पहिलो पटक सामूहिक आलु खेती गरेर राम्रो आलु फलाए पनि किसानहरू खासै हर्षित देखिँदैनन् । नजिकमा ठूलो बजार अभाव र लामो समयसम्म भण्डारणको व्यवस्था नभएर कुहिएर खेर जान सक्ने भन्दै किसानहरू चिन्तित छन् । समूहका अध्यक्ष रोकाले बारीबाट निकालिएको आलु कहाँ राख्ने चिन्ता रहेको बताउनुभयो । गाउँमा भण्डारण केन्द्र नरहेकाले घरमा सुरक्षित राख्न सक्ने अवस्था नरेहको भन्दै आलु खेर जाने जोखिम रहेको किसानहरूले बताएका छन् । 

एकैपटक धेरै आलु विक्री गर्न सक्ने अवस्था नरहेको तथा सोचेअनुसार मूल्य नपाइने गरेको किसानको गुनासो छ । बजार एवम् भण्डारण केन्द्र नहुँदा किसानहरू चिन्तित रहेको पुथाउत्तरगङ्गा गाउँपालिका कृषि शाखाका प्रमुख ओमप्रकाश ओलीले जानकारी दिनुभयो । “अघिल्लो वर्षका तुलनामा यस वर्ष आलु उत्पादन राम्रो देखिएको छ” ओलीले भन्नुभयो –“पछिल्लो वर्षमा उन्नत जातिको बीउ, समय समयमा कृषि प्राविधिकको परामर्शले आलुको उत्पादनकत्त्व वृद्धि हुँदै आएको छ ।” 

१४ वटा वडा रहेको पुथाउत्तरगङ्गाका सबै वडामा आलु राम्रो फल्ने गरेको छ । पालिकाभर के कति उत्पादनको तथ्याङ्क तथा बजारसम्म पु¥याउने अवस्थाका लागि वडागत रूपमा कृषि प्राविधिकलाई खटाइएको ओलीले जानकारी दिनुभयो । त्यसपछि उत्पादनको मात्रा विवरण आएपछि बजार व्यवस्थापनका लागि गाउँ कार्यपालिकामा जानकारी गराउने प्रमुख ओलीको भनाइ रहेको छ ।