• १६ चैत २०८०, शुक्रबार

अट्वारी पर्व १२ गते सार्वजनिक बिदा १९ गते

blog

धनगढी समाचारदाता

धनगढी, भदौ १० गते । सुदूरपश्चिम प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा पर्वभन्दा एक हप्ता ढिलो सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

भदौ १२ गते बर्का अट्वारी पर्व भए पनि सरकारले भदौ १९ गते अट्वारी पर्वको सार्वजनिक बिदा दिने निर्णय गरेको हो। विभिन्न जातजातिको पर्वका अवसरमा प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिँदै आएको छ। 

तर अट्वारी पर्वका अवसरमा १९ गते बिदा दिनु सान्दर्भिक देखिएको छैन। थारू कल्याणकारिणी सभा कैलालीले भदौ १२ गते बिदा दिनका लागि प्रदेश सरकारलाई आग्रह गरेको छ। सभाले आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई ज्ञापनपत्र बुझाउँदै बिदाको मिति सच्याउन आग्रह गरेको हो। 

थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले पनि बर्का अट्वारी तिथिमितिअनुसार भदौ १२ गते रहेको बताउनुभयो। “हामीहरूको अट्वारी पर्व भदौ १२ गते हो,” उहाँले भन्नुभयो, “तर सरकारको बिदासम्बन्धी वार्षिक क्यालेन्डरमा अट्वारी पर्वको बिदा भदौ १९ गते भनेर राजपत्रमा उल्लेख छ। यसलाई सच्याउनका लागि पहल गरिरहेका छौँ।’ २०७८ चैत २२ गते बसेको मन्त्रिपरिपषद् बैठकले अट्वारी पर्वको बिदा दिने निर्णय गरेको थियो। प्रदेश सरकारले यो पर्वका अवसरमा हरेक वर्ष बिदा दिँदै आएको छ। अट्वारी पर्वका अवसरमा कैलाली, कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको प्रदेश राजपत्रमा उल्लेख छ। तर, सन्दर्भ नै नमिलेको मितिमा प्रदेश सरकारले बिदा दिएपछि थारू समुदाय नै अट्वारी पर्व कहिले मनाउने भनेर रणभुल्लमा परेका छन्। 

थारू सम्बद्ध सङ्घ संस्थाको प्रतिवेदनअनुसार अट्वारी पर्वका बिदाको मिति तय भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बताउनुभयो। “यसमा के गर्न सकिन्छ, त्यो बुझेर गरौँला,” उहाँले भन्नुभयो। 

तीजपछिको आइतबार थारू समुदायले अट्वारी पर्व मनाउँदै आएकाले सोहीअनुसार बिदा दिने मिति तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ। तर थारू कल्याणकारिणी सभाले थारू समुदायले भाद्र शुक्ल पक्षको पहिलो एवं श्रीकृष्ण जन्माष्टमीको दोस्रो आइतबार थारू समुदायले अट्वारी पर्व मनाउने गरेको जनाएको छ। तिथिमितिअनुसार यस वर्षको अट्वारी भदौ १२ गते नै रहेको सभाका कार्यवाहक अध्यक्ष माधव चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ। थारू आयोगले पनि आफ्नो वार्षिक क्यालेन्डरमा भदौ १२ गते नै अट्वारी पर्व रहेको उल्लेख गरेको छ।