• ७ जेठ २०८१, सोमबार

गाउँमै स्नातकोत्तर पढ्ने विद्यार्थीका सपना साकार

blog

अमरराज नहर्की

तनहुँ, भदौ ८ गते । तनहुँको एक क्याम्पसले स्नातकोत्तर तह सञ्चालनमा ल्याएपछि तीन जिल्लाका पाँच पालिकाका विद्यार्थीलाई अध्ययन गर्न सहज हुनेभएको छ । गाउँमै स्नातकोत्तर पढ्ने सपना पुरा हुने भएपछि अभिभावक र विद्यार्थीमा खुसी छाएको छ । भानु नगपालिका –११ मानेचौकास्थित त्रिभुवन क्याम्पसले पुर्वाञ्चल विश्व विद्यालयबाट शिक्षा शास्त्र सङ्कायमा स्नातकोत्तर तह सञ्चालनको सम्बन्धन प्राप्त गरेपछि गाउँमै पढ्ने सपना पुरा हुनेभएको हो । 

गाउँमै  स्नातकोत्तर तहको पढाइ नहुँदा आर्थिक कठिनाइ भएका विद्यार्थीले अध्ययनलाई अगाडि बढाउन पाएका थिएनन् । अब त्यो व्यवस्था भएपछि विद्यार्थीमा खुसी छाएको क्याम्पस प्रमुख रविन्द्रराज जोशीले बताउनुभयो । ‘गाउँमै स्नातकोत्तर पढ्न पाउँदा अभिभावक र विद्यार्थीमा खुसी भएका छन्, क्याम्पस प्रमुख जोशीले भन्नुभयो, “दश वर्ष अघिदेखि गरिएको प्रयास सफल भएको छ ।”

पूर्व शिक्षामन्त्री गोविन्दराज जोशीको विशेष पहलमा सो सम्बन्धन प्राप्त भएको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो । तनहुँको भानु नगरपालिकाका अतिरिक्त लमजुङको तीन नगरपालका सुन्दरबजार, मध्यनेपाल, राईनाश, गोरखाको पालुङटार गरी पाँच वटा पालिकाका विद्यार्थीलाई अध्ययनमा सहज हुने क्याम्पसले जनाएको छ । 

भानु नगरपालिका क्षेत्रमै पहिलो पटक सो सम्बन्धन प्राप्त गर्दा गौरव महशुस भएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । सहरमा बसेर अहिलेको महँगीअनुसारको खानपान, कोठा भाडा र मासिक शुल्कले मासिक १० हजारदेखि १५ हजार खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएकाले खुसी छाएको नगर प्रमुख त्रिपाठीको भनाइ छ ।


‘न्यून आयस्तर भएका अभिभावकलाई सहरमा पढ्दा खर्च थेग्न मुस्किल थियो, आफ्नै सामिप्यमा छोराछोरीलाई पढाउन अभिभावकले पाउने भएका छन् । नगर प्रमुख त्रिपाठी  शिक्षा सङ्काय बाहेक अन्य सङ्काय पनि सञ्चालनको लागि पहल भइरहेको छ । पढाइमा अब्बल भए पनि सहरमा गएर अध्ययन गर्न नसकेका विद्यार्थीलाई राम्रो अवसर प्राप्त भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताउनुभयो । 

सो क्याम्पसमा अहिले स्नातक तहमा दुई सय ८८ जना विद्यार्थी अध्ययनरत छन् । स्नातक पास भएपछि थप अध्ययनका लागि सदरमुकाम दमौली, पोखरा, चितवन, काठमाडौं लगायतको स्थानमा जानुपर्ने बाध्यता हटेको क्याम्पस सञ्चालक समिति सदस्य रामकृष्ण ढकालले बताउनुभयो । 

क्याम्पसलाई सम्बन्धनपत्र पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाले एक कार्यक्रमबीच प्रदान गर्नुभयो ।