काठमाडौं, भदौ ६ गते । प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा सांसद गिरीको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जलि व्यक्त गरेको हो । गिरीको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो ।
गिरी नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो । त्यस्तै, वि.सं. २०६४ र २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित हुनुहुन्थ्यो भने वि.सं. २०७४ सालमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ ७ गते मङ्गलबार बिहान १० बजे बस्ने गरी बोलाइएको छ ।