• १८ पुस २०८१, बिहिबार

दुवै सदनको बैठक आज बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने

blog

तस्बिर : सङ्घीय संसद भवन

काठमाडौं, भदौ ६ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आज बस्दैछ । सोमबार बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीका अनुसार सभामुखले निम्न शोक प्रस्ताव प्रस्तुत गर्नेछन्, “प्रतिनिधि सभाको यो बैठक नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिराहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिराहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याताका रुपमा परिचित समाजवादी चिन्तक प्रदीप गिरीको ७५ वर्षको उमेरमा मिति २०७९ साल भदौ ४ गते शनिबार राति ९ः३० बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

यसैगरी, राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।