• ६ साउन २०८१, आइतबार

प्रदीप गिरीको जन्मथलो शोकमग्न

blog

सन्तोष सुवेदी/जीवछ यादव

सिरहा, भदौ ६ गते । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधनले उहाँको जन्मथलो बस्तीपुर र लहान नगरवासी शोकमग्न भएका छन्। स्थानीय जमिनदार परिवारमा जन्मेर पनि समाजवादी आन्दोलनमा होमिनुभएका गिरीको निधनमा स्थानीय किसान, दलित तथा सबै तह र तप्काले शोक मनाएका छन्। 

ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुन्जेल स्वास्थ्य लाभका लागि पूजापाठ गरिरहेका बस्तीपुरवासी गिरीको निधन भएको सुन्नेबित्तिकै राति नै बस भाडामा लिएर काठमाडौँ लागे। अहिले गाउँ खाली जस्तै छ। गिरीको जन्मघर सुनसान छ, हेरालुसमेत गिरीको पुरानो घरमा छैनन्। 

जन्मघरमा रहेका उहाँका भान्से जितनी रामले भन्नुभयो, “गिरीका परिवार त गए गए, यहाँ आश्रममा भएका अन्य मानिस पनि राति नै काठमाडौँ गए। मलाई पनि जान मन त लागेको थियो तर सबैले आश्रम हेर्नुपर्छ। तपाईं यहीँ बस्नुस् भनेपछि म यतै बसेँ।”

“२०३६ सालमा बहुदल र निर्दलबारेको जनमत सङ्ग्रहका बेला प्रदीप दाइ बनारसबाट यहाँ आउनुभएको हो, त्यो बेलादेखि नै हामीले चिनेका हौँ,” उहाँका बालसखा र राजनीतिक क्षेत्रमा हमेसा साथ दिनुहुने ७३ वर्षीय गङ्गाबहादुर (वासु) राउतले भन्नुभयो। 

गिरीको निधनले लहान शोकमग्न छ। आइतबार बिहानैदेखि लहान बजारका कुनै पनि पसल खुलेका छैनन्। नेता गिरीको निधनका कारण लहान नगरपालिकाले सोमबार एक दिनका लागि लहान नगरपालिका र मातहतका सबै कार्यालय, शिक्षण संस्था र स्वास्थ्य केन्द्रमा बिदाको घोषणा गरेको छ। यसैगरी जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा, लहानले समेत सोमबार एक दिनका लागि सम्पूर्ण बजार, व्यवसाय तथा व्यापारिक संस्था बन्द गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले गिरीको निधनले देशलाई जे क्षति भयो भयो, सिरहा कांग्रेसलाई अपूरणीय क्षति भएको बताउनुभयो। गिरीको विचारबाट प्रभावित भएर कांग्रेसको घर झगडा साम्य हुन्थ्यो। कांग्रेसका नेता कार्यकर्ता वैचारिक खुराक पाउने गर्थे। गिरीलाई नेताभन्दा पनि बौद्धिक तार्किक र दार्शनिक व्यक्तित्वका रूपमा लिएको नेकपा (एमाले)का केन्द्रीय   सदस्य तथा सिरहा–३ का सङ्घीय सांसद लीलानाथ श्रेष्ठले भन्नुभयो। गिरी माक्र्सवादको समेत प्रशिक्षक भएको नाताले नेकपा (एमाले)ले एक असल नेता गुमाएको उहाँले बताउनुभयो। 

मधेशी जनताको हक अधिकार स्थापित गराउन गिरीको महत्वपूर्ण भूमिका रहेको जनता समाजवादी पार्टी सिरहाका उपाध्यक्ष राकेशरोशन गुप्ताले बताउनुभयो।