• ६ साउन २०८१, आइतबार

बाँसको बाँधले बस्ती जोगियो

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, भदौ ४ गते । बाँसको अस्थायी बाँधका कारण झापा कनकाई नगरपालिका–४, त्रिवेणी टोलको एउटा सिङ्गो बस्ती कटान हुनबाट बचेको छ। 

कनकाईमाईको एउटा भङ्गालो गत साउन दोस्रो सातादेखि सिँधै बस्ती ताकेर आएपछि गाउँ बगाउने भयले त्यस क्षेत्रका ७० घरपरिवार रातभर निदाउन नसकेको स्थानीय अमृत ढकालले बताउनुभयो। 

खोलाले धार परिवर्तन गरेर कटान सुरु गर्नसाथ कनकाई नगरपालिकाले आफ्नो खर्चमा खोलाको पूर्वी तटमा एक साताभित्रै अस्थायी बाँध बाँध्न सुरु गरेको कनकाई नगरपालिका–४ का वडाध्यक्ष रोशन सुवेदीले बताउनुभयो। “नगरपालिकाको जम्मा १२ लाख रुपियाँ जति खर्च भयो होला तर यसले करोडौँको जमिन र ७० घरपरिवार जोगिएको छ,” सुवेदीले भन्नुभयो। 

तीन सय मिटरको सो बाँसको अस्थायी बाँध हाल निर्माणको अन्तिम चरणमा पुगेको छ। यो बाँध समस्याको स्थायी समाधान नभएको भन्दै यसै वर्ष स्थायी तटबन्धनका लागि नगरपालिकाले ४० लाख रुपियाँ बजेट छुट्याइएको समेत सुवेदीले जानकारी दिनुभयो। 

सोही खोलाका लागि प्रदेश सरकारबाट १५ लाख र सङ्घीय सरकारबाट समेत ५० लाख रुपियाँ जनताको तटबन्ध कार्यक्रमबाट छुट्टिइसकेको सुवेदीले बताउनुभयो। यस क्षेत्रमा खोलाकै आसपासको ऐलानी जग्गामा सुकुम्बासी बस्ती बसेका कारण पनि खोलामा बाढी आएको बेला बस्ती जति बेला पनि जोखिममा रहेको छ । नगरपालिका क्षेत्रले यसअघि उक्त क्षेत्रलाई सिमाङ्कन गरेर ‘रेड जोन’ क्षेत्र घोषणा गरिदिए पनि सस्तो दरमा जग्गा खरिद बिक्री गरी बस्ती बस्ने क्रम नरोकिएको स्थानीयको भनाइ छ। अघिल्लो वर्षमात्रै प्रतिकट्ठा ५० हजारका दरले जमिन किनबेच गरी एक्कै रात १० वटा घर निर्माण गरिएको पाइएको वडाध्यक्ष सुवेदीले बताउनुभयो। 

हाल नगरपालिकाले उक्त क्षेत्रमा बसोबास नगर्न सूचना जारी गरी बोर्ड नै राखिसकेको सुवेदीको भनाइ छ। साथमा नागरिकतासमेत नभएका र अन्यत्र जमिनसमेत नभएकाहरूको बाक्लो बसोबास रहेकाले नगरपालिकालाई नै टाउको दुखाई भएको सुवेदीको भनाइ छ। मानवताको लागि पनि हामीले बस्ती खाली गर्न सकिरहेको छैनौँ, उहाँले भन्नुभयो। उक्त क्षेत्रमा जति बेला पनि खोलाको भङ्गालो पस्न सक्ने हुँदा जतिसक्दो .स्थायी खोलाको तटबन्धन वा बस्ती खाली गर्नुपर्ने स्थानीय युवा शङ्कर भट्टराई बताउनुहुन्छ। यही बर्खायाममा फुटबल चौरको आधा भाग र केही स्थानीयको जमिन गरी सात बिघा जमिन कटान भएको छ।