• ६ साउन २०८१, आइतबार

प्रतिनिधिसभा बैठक

नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल जारी (प्रत्यक्ष प्रसारण )

blog

काठमाडौं, भदौ २ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहानदेखि सुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

त्यसपछि गृहमन्त्री खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाउनुभएको नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्न लागिएको हो । साउन ३१ गते बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न भनेर फिर्ता पठाउनुभएको विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेको थियो ।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकतासम्बन्धी विधेयक साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएइका थिए । तर, राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय महिला आयोगको चौधौं वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेश गर्नुहुने कार्यसूची छ । 

त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१० उपनियम ४ बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिका लागि पेश गर्नुहुने कार्यसूची  छ ।