• ६ साउन २०८१, आइतबार

चाैँतीस वर्षपछाडि औँसी पूर्णिमा हाट

blog

राधा लुइटेल

फिदिम, भदौ २ गते ।  पाँचथरको पुरानो सदरमुकाम जोरसाल बजारमा ३४ वर्ष अगाडिदेखि बन्द भएको औँसी पूर्णिमा हाट पुनः लगाउन थालिएको छ। स्थानीयले उत्पादन गरेका अन्न गेडागुडी, घरेलु र कृषि उपजसहित रैथाने उत्पादनहरूको किनबेच हुने उक्त हाट २०४५ सालदेखि बन्द भएको थियो।

पछिल्लो समय स्थानीय निकायका जनप्रतिनिधि र उद्योग वाणिज्य सङ्घको अगुवाइमा साउन २७ गतेदेखि हाट लगाउन थालिएको हो। अब यो बजार महिनाको दुई पटकअर्थात् तिथिका आधारमा औँसी र पूर्णिमामा लाग्ने फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिनुभयो।

बजारको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय देउराली युवा क्लबलाई दिइएको छ। पाँचथरलाई यातायात सञ्जालले नजोडुञ्जेलसम्म पाँचथरको फिदिम, भारपा, चोकमागु, लुम्फावुङ र नवमीडाँडासहित तेह्रथुमको आठराई र ताप्लेजुङका अधिकांश स्थानका बासिन्दा घरेलु र कृषि उपजसँगै लत्ता कपडा र उपभोग्य वस्तु यो बजारमा किनबेच गर्न आउँथे। यो हाट स्थानीयबीच भएको बेमेलका कारण २०४५ सालपछि बन्द भएको स्थानीय अग्रज काजिमान श्रेष्ठ बताउनुहुन्छ। २०३९ सालसम्म पाँचथरको सदरमुकाम जोरसालमै थियो। २०४० सालदेखि फिदिम बजारमा सारिएको स्थानीय बताउँछन्।

हाट बजार उद्घाटनका क्रममा स्थानीय उपजका स्टलसँगै स्थानीय संस्कृतिमा आधारित झाँकी र लोक नृत्यहरू प्रदर्शन गरिएको थियो। त्यस अवसरमा स्थानीय कृषि उपजसँगै डोको नाम्लो, डालो, लाहा, फलफूल र कन्दमुल बिक्रीका लागि राखिएका थिए। हाट बजारको उद्घाटन फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले गर्नुभएको थियो।