• ६ साउन २०८१, आइतबार

एम्बुलेन्समा लागूऔषध ढुवानी

blog

सन्तोष सुवेदी

सिराहा, भदौ २ गते । ठूलो परिमाणमा लागूऔषध धमाधम पक्राउ पर्न थालेपछि लागूऔषध कारोबारीले ढुवानी गर्न एम्बुलेन्स प्रयोग गर्न थालेका छन्। इलाका प्रहरी कार्यालय लाहानले सोमबार बेलुकी लहानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयअगाडि गरेको सवारीसाधन जाँचको क्रममा बिरामी बोक्ने एम्बुलेन्सभित्र लागूऔषध गाँजा फेला पारेको छ। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अवस्थामा को. १ च. ७५७७ नम्बरको एम्बुलेन्सको पछाडि बिरामी राखिने क्याबिनभित्र प्रहरीले पाँचवटा ठूलो बोरामा ९० किलो गाँजा बरामद गरेको हो। उक्त गाँजासँगै लहान प्रहरीले धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लाहानका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले धनगढीबाट चारपाङ्ग्रे सवारीसाधनमा ठूूलो परिमाणको गाँजा ढुवानी हुँदैछ भन्ने गोप्य सूचना आएपछि लाहानस्थित ट्राफिक प्रहरी कार्यालयअगाडि आफूहरूले जाँच गरेको बताउनुभएको छ। “अन्य सवारीसाधनमा ढुवानी गर्दा पक्राउ परिन्छ भनेर अब एम्बुलेन्समा लागूऔषधका कारोबारीले लागूऔषधजन्य सामग्री ढुवानी र मौज्दात गर्न थालेको देखिएको छ,” उहाँले भन्नुभयो।

पछिल्लो घटनाले लागूऔषधका कारोबारीले व्यक्तिको घरमा, होटलमा र लजमा बसेर लागूऔषधको कारोबार (‘डिल’) गर्ने र होटल र लजबाटै लागूऔषध खरिद बिक्री गर्ने गरेको देखाएको प्रहरीले जनाएको छ। यही क्रममा लहान प्रहरीले गत साउन २२ गते साँझ ४ः३० बजेको समयमा लहानको अस्पताल चोकस्थित सगरमाथा होटल लजको कोठाबाट फेनारगन ९९१ एम्पुल, डाइजिपाम ९९१ एम्पुल र ब्युप्रिनोर्फिन ९९१ गरी २९७३ थान लागूपदार्थ बरामद गरेको थियो। यस्तै गत असार ५ गते राति ११:०० बजे लहान नगरपालिका–७ को एक घरबाट फेनारगन ६४५ एम्पुल, डाइजिल्याब ६४५ एम्पुल र ब्युप्रोफिन ६४५ एम्पुल, नाइट्राभेट ४३९ ट्याब्लेट र स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट गरी २८०६ थान लागूपदार्थ बरामद गरेको थियो।

लागूऔषधका कारोबारीले चुरे पर्वतको फेदीमा रोपिएको गाँजा तयारी अवस्थामा बोरामा प्याक गरेर लुकिछिपी भारततर्फ निर्यात गर्ने र त्यहाँबाट विभिन्न किसिमका लागूऔषधजन्य मनोदीपक सामग्री पैठारी गर्ने गर्दछन्।