• ६ साउन २०८१, आइतबार

दार्चुला दुर्घटना : घाइतेको उपचारको व्यवस्था मिलाउन गृहमन्त्रीको निर्देशन

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

काठमाडौं, भदौ १ गते। गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीमा जिप दुर्घटना हुँदा घाइते भएकाको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ। 

उहाँले जिल्लामा रहेको स्रोत र साधनले नपुगेमा मन्त्रालयमा खबर गर्न पनि सम्बन्धित अधिकारीलाई आग्रह गर्नुभएको छ। गृह प्रशासन र दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय तथा सुरक्षा निकायका प्रमुखलाई टेलिफोन गरेर घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको हो। 

जिल्लाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार पुरुष र एक महिला गरी पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रजिअ उपाध्यायले जानकारी दिनुभयो। 

दुर्घटनामा नौ जना घाइते भएका र तीमध्ये तीन जनाको स्वास्थ्य अवस्था गम्भीर भएको प्रजिअ उपाध्यायले बताउनुभयो। घाइते सबैलाई उद्धार गरी गोकुलेश्वर अस्पतालमा  पुर्‍याइएको छ। 

गम्भीर घाइतेलाई थप उपचारमा लैजानुपर्ने भएमा र हेलिकप्टर चाहिए मन्त्रालयमा जानकारी गराउन पनि गृहमन्त्री खाणले प्रजिअ उपाध्यायलाई भन्नुभएको छ। रासस