• ५ साउन २०८१, शनिबार

कांग्रेस देउवा पक्षको भेला

blog

बिन्दु थापा 

पाल्पा, साउन ५ गते । नेपाली कांग्रेसका नेताले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताइरहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवा पक्षको यहाँ भेला भएको छ ।

कांग्रेस देउवा पक्षले जिल्लामा आयोजना गरेको कार्यक्रममा जिल्लाका नेताले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने सुझाएका छन् । देशभर गुटले प्रश्रय पाएको बताउँदै नेता राजन पन्तले गुट अन्त्य गर्न सके मात्र पार्टी बलियो हुने धारणा राख्नुभयो । गुट बलियो बनाउने होइन, पार्टी बलियो बनाउनुपर्छ, उहाँले भन्नुभयो ।  

यस्तै, नेता माधव नेपालले गुट र उपगुटमा पनि व्यक्तिवादी आवी भएकाले आफुनिकट व्यक्ति चुनावमा नउठे हराउने प्रवृतिले कांग्रेसमा खतरा भएको बताउनुभयो । बीपीको विचार र सिद्धान्तलाई अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नेपाली कांग्रेस पाल्पाका आर्थिक सल्लाहाकार सन्तोषलाल श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाउन आवश्यक रहेको बताउँदै विगतका कमी कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेता हुमनाथ न्यौपाने, अर्जुन रेग्मी, रैनादेवी छहराका नेता रामबहादुर कार्की, माथागढि गाउँपालिकाका नेता कृष्णप्रसाद भट्टराई, महिला नेता सिता ज्ञवाली, गीता भट्राई केशव शर्मा, रिब्दिकोट गाउपालिकाका नेता गोविन्द आचार्य, सुवर्णमुनि शाक्य, राधेश्याम ज्ञवाली लगायतले बीपीको विचार र सिद्धान्त कांग्रेसले भुल्दै गएको र बीपीको विचारलाई अनुसरण गर्न सकेमात्र कांग्रेस सफल हुने बताउनुभयो ।