• ६ साउन २०८१, आइतबार

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिनुहुने

blog

राममणि दाहाल

हेटौँडा, साउन ६ गते । बागमती प्रदेश सभाबाट मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिनु हुने भएकाे छ । उक्त प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ । 

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन भन्दै यसअघि प्रदेश सभा सचिवालय बैठकमा समय व्यवस्थापनका लागि पत्र दर्ता गराउनुभएपछि प्रदेश सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो । 

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले बागमती प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो ।

प्रमुख विपक्षी दलका नेताका लागि समय सीमामा निर्धारण गरिएको छैन भने अन्य दलका नेतालाई १०–१० मिनेट बोल्न दिने गरी तय गरिएको छ । तर मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने गरी मतदानमा जाने सम्भावना कम हुँदै गएको छ । अल्पमतमा परेसँगै मुख्यमन्त्री जमरकट्टेल अविश्वासको प्रस्ताव वा राजीनामा भन्ने बारेमा अलमलमा पर्दै आउनुभएको छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्ने र पदबाट राजीनामा दिने गरी सत्ता गठबन्धनमा रहेका दलहरूबिच पछिल्लो पटक छलफल भएको थियो । सोही अनुसार मुख्यमन्त्रीले प्रदेश सभाबाटै पदबाट राजीनामा दिनु हुने जनाइएको छ ।

विश्वासको मतका मतदानमा जाँदा पनि जमरकट्टेल नेतृत्वको सरकार वाहिरीने निश्चित रहेको छ । मुख्यमन्त्रीको पक्षमा हाल नेकपा माओवादी केन्द्रका २१, सात जना प्रदेश सभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी रहेको छ ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्यमा शुष्पा भुजेल न्यौपाने विदेश भ्रमणमा रहनुभएको छ । दुई जना प्रदेश सभा सदस्य रहेको हाम्रो नेपाली पार्टीमा देखिएको विवादका कारण मत विभाजित छ । 

११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा काँग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना प्रदेश सभा सदस्य रहेका छन् । सरकार निर्माणका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुने यस प्रदेशमा काँग्रेस र एमाले मिल्दा सहजै बहुमत पुग्ने छ ।

तीन जना प्रदेश सभा सदस्य रहेको नेमकिपा यसअघिको विश्वासको मतमा तटस्थ बसेको थियो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट चौथो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।२०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले यसअघि २०७र्९ माघ ३ गते,  २०७९ चैत १० गते र गत चैत १९ प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । 

सरकारलाई समर्थन गरेको नेकपा एमालेका मन्त्रीहरूको सामूहिक राजीनामासँगै गत असार २४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जमरकट्टेल अल्पमतमा पर्नुभएको थियो । 

नेपाली काँग्रेस गत फागुनमा सत्ताबाट बाहिरिएसँगै गत चैत १९ मा जम्कट्टेलले एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन पाउनुभएको थियो ।