• ६ साउन २०८१, आइतबार

स्काउटको विवाद सुल्झाउन पहल गर्छु : खेलकुदमन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ६ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गा विवाद छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनुभएको छ ।

आइतबार सिंहरदरबारस्थित मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने उहाँको भनाइ छ । 

मन्त्री चौधरीले भन्‍नुभयो, ‘हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी छिटो समाधान गर्नेछौं । त्यसमा हामी पर्यटकीय प्रयोग हुनेगरी तालिम केन्द्र बनाउन सक्छौं’ उहाँले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

स्काउटको लालपुर्जासहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्‍दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्‍नसमेत निर्देशन दिनुभयो । ‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ । जसमा कहाँ के भइरहेको छ । यसको तथ्याङ्क हुनुपर्छ । सक्दो छिटो साउन महिनाभरीमा हामीले स्काउटको जग्गा कहाँ कसरी प्रयोग भइरहेको छ । त्यो थाहा पाउन सके त्यसको व्यवस्थापनमा हामी जानेछौं’ उहाँले भन्नुभयो ।

उहाँले स्काउटको जग्गा सदुपयोगका लागि प्रदेश तथा स्थानीय निकायसँग पहल गरी तालिम केन्द्र तथा स्काउट अफिसको स्थापनाका लागि पहल गर्ने समेत बताउनुभयो । स्काउटको विस्तार र विद्यालयस्तरीय पहुँचको दायरा फराकिलो बनाउनु पर्नेमा उहाँको जोड छ ।