• ६ साउन २०८१, आइतबार

बङ्गलादेशबाट आठसय विद्यार्थी फर्के, अनलाइन निवेदन दिन आग्रह

blog

काठमाडौं, साउन ५ गते । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका आठ सय विद्यार्थी नेपाल फर्केका छन् । 

परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले सो जानकारी दिनु भएको हो । उहाँका अनुसार हालसम्म झण्डै ८०० नेपाली विद्यार्थी हवाई वा स्थलमार्ग हुँदै नेपाल आउन बंगलादेश छाडेका छन् ।

बंगलादेशका विभिन्न स्थानबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरिएको छ । 

 बंगलादेशमा कोटा प्रणालीको विरोधमा हिंसा भड्किएपछि तनाव सिर्जना भएको छ ।  नेपालले त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीलाई ल्याउने प्रयास यसअघि नै सुरु गरेको छ । 

साथै परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिनुहुन अभिभावकसँग अनुरोध गरेको छ । 

जारी गरिएको सूचनामा भनिएको छ, ‘‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।’’

निवेदनका लागि निम्न लिङ्कमा जानुहोसः https://legal.nepalconsular.gov.np/passport


प्रहरीद्वारा गोली प्रहार, सेनाद्वारा गस्ती शुरू

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी एएफपीका अनुसार, बङ्गलादेशका विभिन्न शहरमा विद्यार्थीको प्रदर्शनको कारण बढ्दै गएको नागरिक अशान्तिलाई नियन्त्रण गर्न शनिबार सेनाले गस्ती शुरू गरेको छ । 

प्रहरी र अस्पतालले सार्वजनिक गरेको एएफपीलाई प्राप्त तथ्याङ्कअनुसार यस हप्ताको हिंसामा कम्तीमा १२३ जनाको मृत्यु भएको छ र यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनकालपछिको सरकारका लागि ठूलो चुनौती हो ।

सरकारले शनिबार मध्यरातदेखि लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरेको छ र प्रधानमन्त्री कार्यालयले सेना परिचालन गर्न सैनिक मुख्यालयलाई आग्रह गरेको छ । 

सशस्त्र बलका प्रवक्ता शाहदत हुसेनले एएफपीसँग भन्नुभयो, “कानून र व्यवस्थाको स्थितिलाई नियन्त्रण गर्न देशव्यापी रूपमा सेना तैनाथ गरिएको छ ।”

निजी प्रसारणकर्ता च्यानल २४ का अनुसार स्थानीय समयअनुसार आइतबार बिहान १० बजेसम्म कर्फु जारी रहनेछ ।

राजधानी ढाकाका सडकहरू शनिबार दिउँसो सुनसान थिए भने बख्तरबन्दसहितका सुरक्षा कर्मचारीले दुई करोड व्यक्ति बसोबास गर्ने विशाल शहर ढाकालाई गस्ती गरिरहेका देखिन्थ्यो । 

यसैबीच, शनिबार रामपुराको आवासीय इलाकामा हजारौं मानिस सडकमा ओर्लिएपछि प्रहरीले भीडमाथि गोली चलायो र कम्तीमा एक जना घाइते भएका छन् । 

प्रदर्शनमा सहभागी ५२ वर्षीय नजरुल इस्लामले एएफपीसँग भन्नुभयो, “हाम्रो पिठ्युँ भित्तामा फर्किएको छ । देशमा अराजकता चलिरहेको छ । सुरक्षाकर्मीले मानिसहरूलाई चरालाई जस्तै गोली हानेका छन् ।”

अस्पतालहरूले एएफपीलाई बिहीबारदेखि गोली लागेर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता फारुक हुसेनले एएफपीसँग कुरा गर्दै भन्नुभयो, “शुक्रबार राजधानीमा लाखौँ मानिस प्रहरीसँग भिडन्तमा उत्रिएका थिए ।”

उहाँले भन्नुभयो, “कम्तीमा दुईजना अधिकारीको कुटपिटबाट मृत्यु भएको छ । १५० जना प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गरिएको छ । अन्य १५० जनाको प्राथमिक उपचार गरिएको छ ।”

“प्रदर्शनकारीले कैयौँ प्रहरी बुथ र सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरेका छन् । 

ढाका मेडिकल कलेज अस्पतालका कर्मचारीले दिएको जानकारीअनुसार शनिबार थप दुई जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने सघन उपचार कक्षमा भर्ना भएका चार सर्वसाधारणको मृत्यु भएको छ ।

बङ्गलादेशको कपडा निर्यातको प्रमुख केन्द्र ढाकाको बाहिरी क्षेत्रमा पर्ने औद्योगिक शहर सावरमा थप दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

एनाम मेडिकल कलेज अस्पतालका प्रवक्ता जाहिदुर रहमानले गोली लागेर घाइते भएका नौ जना उपचारका लागि उक्त अस्पतालमा आएको बताउनुभयो ।”

प्रदर्शनको आयोजना गर्ने मुख्य समूह भेदभावविरूद्ध विद्यार्थी (स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन) का प्रवक्ताले एएफपीलाई शुक्रबारदेखि आफ्ना दुई नेतालाई पक्राउ गरिएको बताएका छन् ।

प्रधानमन्त्री हसिनाले आइतबार कूटनीतिक भ्रमणका लागि विदेश जाने कार्यक्रम रहेको थियो तर देशमा देखिएको अशान्तिका कारण भ्रमण स्थगित हनुभएको छ । 

उहाँका प्रेस सचिव नायमुल इस्लाम खानले भन्नुभयो, “प्रधानमन्त्री हसिनाले वर्तमान परिस्थितिका कारण आफ्नो स्पेन र ब्राजिल भ्रमण रद्द गर्नुभएको छ ।” 

सन् १९७१ मा पाकिस्तानविरुद्ध भएको स्वतन्त्रता संग्रामका भूतपूर्व सैनिकका छोराछोरीसहित निजामती सेवाका आधाभन्दा बढी पद विशिष्ट समूहका लागि आरक्षित गर्ने कोटा प्रणाली अन्त्य गर्न यस महिना दैनिक प्रदर्शनकोे आह्वान गरिएको छ । 

आलोचकहरूका अनुसार यो योजनाले सन् २००९ देखि देशमा शासन गरिरहेकी र जनवरीमा लगातार चौथो पटक चुनाव जित्नुभएकी ७६ वर्षीया हसिनाप्रति वफादार परिवारलाई फाइदा पुर्‍याउँछ । 

हसिनाको सरकारमाथि अधिकारवादी समूहहरूले सत्तामाथि आफ्नो पकड बलियो बनाउन राज्यका संस्थाहरूको दुरुपयोग गरेको र विपक्षी कार्यकर्ताको गैरन्यायिक हत्यासहित असहमतिलाई निस्तेज पारेको आरोप लगाउँदै आएका छन् ।

प्रदर्शनकारीले मङ्गलबार पहिलो मृत्यु भएपछि हसिनालाई पदबाट हट्न माग गर्न थालेका छन् ।

“यो अब विद्यार्थीको अधिकारको कुरा मात्र होइन, आन्दोलनमा सबैको चासो बढेको छ ।” रामपुरा प्रदर्शनस्थलमा पुगेका २४ वर्षीय व्यवसायी हसिबुल शेखले एएफपीसँग भन्नुभयो । 

उहाँले भन्नुभयो, “हामी अहिले सर्वसाधारणका रुपमा यहाँ छौं । सरकारको राजीनामा हाम्रो अहिलेको निर्विकल्प माग हो ।”