• ६ साउन २०८१, आइतबार

गुरु पूर्णिमामा सार्वजनिक बिदा

blog

अमरराज नहर्की

तनहुँ, साउन ६ गते । तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण [गुरु पूर्णिमा] का अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।  

गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम छ । नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) र नगरपालिका मातहतका सङ्घसंस्था बन्द रहने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार वेद १८ पुराणका रचयिता भगवान् व्यासको जन्म तनहुँको दमौलीमा भएको विश्वास गरिन्छ । यही व्यासको नामबाट व्यास नगरपालिका नामकरण गरिएको हो । प्रत्येक वर्ष नगरपालिकाले गुरु पूर्णिमामा सार्वजनिक बिदा दिँदै आएको छ । गुरु पूर्णिमाको अवसर पारेर व्यास नगरपालिकाले आइतबार बिहान  सदरमुकाम दमौलीमा प्रभातफेरी कार्यक्रम गरेको थियो । प्रभातफेरी पछि व्यास नगरपालिकाको हाताभित्र रहेको व्यासको प्रतिमामा माल्यार्पण कार्यक्रम गरिएको थियो ।