• ६ साउन २०८१, आइतबार

सिँचाइ सुविधाका कारण असारमै धान रोपाइँ

blog

असारको दोस्रो हप्तामै धान रोपाइँ सम्पन्न । तस्बिर: ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन ६ गते ।
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरस्थित उपाल्लाचौरका कृषक लोकबहादुर थापामगरले यसपालि असारको दोस्रो हप्तामै धान रोपाइँ सक्नुभएको छ । तीन वर्ष अघि देखि सुरु भएको उपल्लाचौर सिँचाइ योजना सम्पन्न भएर ढोडेनी खोलाको पानी खेतमा आएपछि आकासे पानीको भरमा धान रोप्नुपर्ने थापामगरको बाध्यता हट्यो । 

यस्तै रत्नेचौरका शङ्कर महतले पनि असारको तेस्रो साताभित्रै धान रोपाइँ सक्नुभयो । २०२३ साले सिँचाइ कुलोको मर्मत सम्पन्न भएपछि ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा सहज रुपमा आएपछि रत्नेचौरका किसानहरुले असार महिनाभित्रै धान रोपाइँ सकेका छन् ।

‘‘पहिरो र बाढीले पुरानो कुलाको नहर र मुहान भत्काइदिएको थियो,’’ कृषक महतले भन्नुभयो, ‘‘पहिरोले नहर बगाएका कारण विगतमा सिँचाइ गर्न निकै कठिन भएको थियो । आकासे पानीको भरमा सिँचाइ गरेर धान रोप्नुपर्ने बाध्यता थियो । अहिले सिँचाइ कुलो मर्मत भएको छ, ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा आइपुगेको छ ।’’

ढोडेनी खोलाको पानी रत्नेचौरको फाँटमा ल्याएर सिँचाइ गर्न पाएपछि किसानहरु खुसी भएको महतको भनाइ छ ।

आर्थिक वर्ष २०८०/०८१ म खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले बेनी नगरपालिका १ रत्नेचौरमा दुईवटा सिँचाइ योजना सम्पन्न गरेपछि किसानहरुलाई राहत मिलेको छ ।

चालु आर्थिक वर्षमा २२ लाख रुपियाँ लागतमा २०२३ साले सिँचाइ योजनाको मर्मत सम्भार गरिएको कार्यालयका सिँचाइ तथा उर्जा शाखाका अधिकृत छैटौं प्राविधिक अन्जन खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार योजनामा एक हजार पाँचसय ७४ मिटर पाइपलाइन, मुहानमा दुई वटा इन्टेक र ३० थान ग्यावियन झाली लगाएर मुहानलाई संरक्षण गरिएको छ ।

कुलो मर्मत भएपछि रत्नेचौर फाँटको करिब २५ हेक्टर जमिनमा सिँचाए सुविधा पुगेको उपभोक्ता समितिका सचिव ओम रोकाले बताउनुभयो । पाइपलाइन जडान गरिएपछि बर्खाको समयमा नहर बगाउने समस्या हटेको उहाँले बताउनुभयो ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ बाट थालिएको उपाल्लाचौर सिँचाइ योजना पनि गत आर्थिक वर्षमा सम्पन्न भएको छ । योजनामा तीनसय ८० मिटर नहर निर्माण र एकहजार ८२ मिटर पाइपलाइन निर्माण गरिएको कार्यालयका कर्मचारी मोतीलाल बलामीले जानकारी दिनुभयो ।

उपभोक्ता समिति मार्फत सम्पन्न भएको सिँचाइ योजना सम्पन्न गर्न पहिलो वर्ष २५ लाख, दोस्रो वर्ष १५ लाख र गत आर्थिक वर्षमा २० लाख रुपियाँ गरी कुल ६० लाख रुपियाँ खर्च भएको बलामीले बताउनुभयो । 

सिँचाइ योजना सम्पन्न भएपछि बाह्रै महिना सिँचाइ सुविधा पुगेको उपल्लाचौर सिँचाइ योजनाका उपभोक्ता समितिका अध्यक्ष चन्द्रवीर थापामगरले बताउनुभयो । उहाँका अनुसार सिँचाइ योजनाबाट एक सय पचास घरधुरी लाभान्वित भएका छन् । सिँचाइ सुविधा भएकाले चाँडै नै धान रोपाइँ सकिएकाले यस वर्ष धान उत्पादनमा वृद्धि हुने आशा गरिएको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा प्रदेश र सङ्घीय सरकारका गरी जिल्लामा सञ्चालित सिँचाइ योजनाबाट ८९ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो । सिँचाइ सुविधा विस्तारपछि आकासे पानीको भरमा सिँचाइ गर्नुपर्ने किसानको बाध्यता हटेको र कृषि उत्पादनमा वृद्धि हुने आशा गरिएको उहाँको भनाइ छ ।