• ६ वैशाख २०८१, बिहिबार

संघर्षबाटै देउडा फैलाउने गायक नन्दकृष्ण जोशी

हाँसोभित्र दुःखका पीडा पनि गुन्जेका छन्

blog

काठमाडौं, साउन ३० गते । विसं २०३४ मा रेडियो नेपालमा गीत गाउँन प्रवेश गर्नुभएका नन्दकृष्ण जोशी अहिले ‘देउडाका राजा’ नामले चिनिनुहुन्छ ।

आफैं रचना गर्ने र आफैं गाउँने जोशीलाई देउडा गीत लेख्न र खेल्न दुवै मन पर्छ । देउडासँग उहाँको छुट्टै लगाव छ । जिन्दगीको कलिलो उमेरदेखि आजसम्म पनि देउडा संस्कृति जोगाउन निरन्तर लागिरहनुभएका जोशीलाई काठमाडौंलाई देउडा गीत चिनाउने व्यक्तिको रुपमा चिनिन्छ । 

जोशीले २०३८ सालदेखि क्रमिकरुपमा राष्ट्रिय प्रसारणमा देउडा गीत र लोकगीत गाउन थाल्नुभयो । आफूले आफूलाई निकै भाग्यमानी ठान्ने जोशीलाई सुदूरपश्चिमको देउडा काठमाडौंमा बीजारोपण गर्न कठिन भएको सुनाउनुहुन्छ । 

उहाँले २०४५ मा देउडा गीतको पहिलो एल्बम निकाल्नुभएको थियो । त्यसबेला काठमाडौंमा रेर्कड भएको एल्बम सुदूरपश्चिमको आँगनसम्म पुर्याउन भारतको बाटोको सहायता लिनुपर्ने थियो । 

 देउडा संस्कृति जोगाउन निरन्तर लागिरहनु भएका जोशीलाई काठमाडौंलाई देउडा गीत चिनाउने व्यक्तिको रुपमा चिनिन्छ

“म सानो रेडियोमा गीत सुन्ने, काम नगरेर, लुकेर गीत सुन्ने मान्छे हुँ”, उहाँ भन्नुहुन्छ, “रेडियो नेपालमा गीत बज्दा रेडियो नेपाल कस्तो होला !, नेपाल कस्तो होला भन्ने कौतुहल मनमा बढ्ने गर्दथ्यो ।” 

“सुदूरपश्चिममा त्यो बेला काठमाडौंलाई नेपाल भन्ने चलन थियो । यसै जिज्ञासाका साथ रेडियो नेपालको यात्रा सुरु भयो”, उहाँले भन्नुभयो ।  

नेपाली भाषासमेत बोल्न नजान्ने जोशीको देउडा राजा बन्ने यात्रा निकै कठिन थियो । 

जोशीका अनुसार, देउडा गीत नेपालको, कर्णाली र सुदूरपश्चिम प्रदेशको जीवन पद्धती हो, नेपालको परम्परा र आदिम संस्कृति हो तथा सबैभन्दा पुरानो संस्कृति पनि हो । 

“देउडा गीत चेतनामूलक अभियानको रुपमा पनि प्रयोग गरेँ, उहाँ भन्नुहुन्छ, “देउडा बिस्तारै अगाडि आउँदैछ तर मूलभूत काम भने गर्न नै बाँकी छ ।” 

देउडाभित्र हजारौं लयहरु छन् । देउडा नाँच्दा सवाल जवाफ हुन्छ । यो पर्वको पनि गीत हो । 

सुदूरपश्चिममा वैशाख १ गते अर्थात नयाँ वर्षको दिन ‘बिसु’ पर्व मनाउने चलन छ । यस दिन सबैजना गोला आकार बनाएर देउडा गीत गाएर नाच्ने चलन छ । 

यस्तै, गौरा पर्वमा पनि देउडा खेल्न गरिन्छ । त्यस कारण देउडा पर्व विशेष, जनजीवन विशेष र भाका संकलनको रुपमा पनि लिन सकिन्छ । 

जोशीका अनुसार अहिले देउडा परिमार्जित भएको छ । “देउडाका पुराना गीतहरु हराउँदै गएका छन् तर गाउँका मानिसले अहिले पनि देउडाको रक्षा गर्ने गरेको देखिन्छ ।” उहाँले भन्नुभयो । 

देशभरि एउटै कलाकारले तीन पटक ‘गोरखा दक्षिणबाहु गोदबा’ पाउनुभएका कलाकार हुनुहुन्छ जोशी । संस्कृतिको यो गीत उहाँले जीवनको अन्तिम दिनसम्म पनि नछोड्ने प्रतिबद्धता जनाउनुभयो ।


भिडियो : मनोजरत्न शाही