• १६ चैत २०८०, शुक्रबार

स्यार्पुको सुन्दरताले तानिँदै पर्यटक (फोटो फिचर)

blog

बाँफिकोट गाउँपालिका ३ र ५ मा फैलिएको स्यार्पुताल । तस्बिर – राजु लामिछाने

राजु लामिछाने
रुकुमपश्चिम, साउन २८ गते ।
कर्णाली प्रदेशको आकर्षक पर्यटकीय स्थलको रुपमा रहेको रुकुम पश्चिमको स्यार्पु सुन्दरताले आन्तरिक पर्यटकको मन तानेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकाको ३ र ५ नम्बर वडाको २.६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको स्यार्पुताल वर्षासँगै टम्म भरिएर थप आकर्षक बनेको कारण पर्यटकहरु बाक्लिन थालेका हुन् ।

स्यार्पुताल होमस्टे सञ्चालक समितिका सचिव तुलसा मल्लका अनुसार टम्म भरिएको ताल हेर्न, तालमा डुङ्गा चढ्न मनोरञ्जन लिन र तालमा रहेका माछाको परिकार खानाको लागि आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बिदा र पर्वको दिन स्यार्पु हेर्न आउनेहरुको घुइँचो हुने गर्दछ । विदाको दिनमा तालमा चल्ने छ वटा डुङ्गाहरु दिनभर व्यस्त हुन्छन् भने अन्य दिनहरुमा दैनिक २५ देखि ३० जना आन्तरिक पर्यटकहरु स्यार्पुतालको अवलोकनका लागि आउने गरेका छन् ।


स्थानीय बुद्धिजीवी गोपाल केसीले यतिबेला स्यार्पुताल जवानीले मैमत्तसरह भएको बताउनुभयो । वर्षा लागेसँगै फक्रिएको स्यार्पुको बैंसले हरेक तरुनी र तन्नेरीको मन लोभ्याउने गरेको केसीले उल्लेख गर्नुभयो । चटक्क सिँगारिएका दुलही जस्तो आकर्षक स्यार्पुताल हेर्न आउने आन्तरिक पर्यटकहरु स्पार्पुको बास्नामा मोहित हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

तालमा डुङ्गा चढ्ने, पौडी खेल्ने, फोटो तथा भिडियो खिच्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेको बताइएको छ । तालको छेउमा रहेको स्पार्पुगाउँ र दहगाउँले ताललाई थप आकर्षक बनाएका छन् । भरिएको तालबाट बग्ने पानी दहि जस्तै देखिने हुनाले स्यार्पु छोड्न नमान्ने र एकनास स्यार्पु हेरिरहुँ लाग्नेहरु होमस्टेमा बास बस्नसक्ने होमस्टे सञ्चालक समितिका सचिव तुलसा मल्लले बताउनुभयो ।

वर्षायाममा बढेको स्यार्पुको शोभाले पर्यटक तानिरहेको स्थानीयले बताएका छन् । ताल विशेष गरी वर्षायाममा हेर्न लायक हुन्छ । स्यार्पुतालको आकार वर्षा र हिउँदमा फरक हुन्छ । स्यार्पुले आकार मात्र होइन रङ्ग पनि बदल्छ । भरिभराउ तालको भदौदेखि असोज महिनाभर अवलोकन गर्न सकिन्छ । त्यसपछि तालको आकार विस्तारै घट्दै जान्छ । हिउँदमा पनि ताल निकै रमणीय देखिन्छ ।


तालमा परम्परागत काठका डुङ्गा विस्थापित गरेर र्‍याफ्टिङ र आधुनिक डुङ्गाको व्यवस्था गरिएको छ । तालमा घुम्नका लागि आएकाहरुले धित मरुञ्जेल र्‍याफ्टिङ र बोटिङको मजा लिन सक्छन् । विशेषगरी तालबाट काठका डुङ्गा विस्थापित गरेर आधुनिक डुङ्गा राखिनु तथा खान बस्नका लागि होमस्टेहरु सञ्चालन गरिनुले यहाँ घुम्न आउनेहरुको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको होमस्टे सञ्चालक दरिधान पुरी बताउनुहुन्छ ।

हिमालबाट बगेर आउने पानी तालमा मिसिने भएका कारण यहाँ स्नान गर्दा स्वास्थ्यका लागि फाइदाजनक रहेको पनि स्थानीयको भनाइ छ । पर्यटन प्रबर्द्धन तथा वातावरण संरक्षण केन्द्र रुकुमका संस्थापक सचिव समेत रहनुभएका गोपाल केसीले जडीबुटीसहितको पानी तालमा मिसिने भएकाले यसको छुट्टै महत्त्व रहेको बताउनुहुन्छ ।


बास बस्नलाई होमस्टे
स्यार्पुताल हेर्न पुग्नेहरुलाई लक्षित गर्दै स्यार्पु गाउँमा होमस्टे निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय र स्थानीयको श्रमदानबाट वडा नम्बर ३ स्यार्पु गाउँका ११ वटा घरमा होमस्टेका लागि विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।

कोसेली घर, भान्सा घर, शौचालय, वाथरुम, ट्रस्टलगायतका संरचनाहरु निर्माण गरिएको हो । स्यार्पुताल अर्गानिक होमस्टे कार्यक्रमअन्तर्गत विभिन्न संरचनाहरु निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयको ४३ लाख र स्थानीयको ३० प्रतिशत श्रमदानमा भौतिक संचना निर्माण भएको डिभिजन वन प्रमुख महेश कुमाईले जानकारी दिनुभयो ।


कोसेली घर व्यक्तिगत जग्गामा १५ वर्षका लागि लिजमा लिएर निर्माण गरिएको छ भने अन्य संरचना भने घरघरमा निर्माण भएका छन् । घरघरमै पाहुना राख्न सकिने भएपछि स्यार्पुतालको पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने डिभिजन वन प्रमुख कुमाईले विश्वास व्यक्त गर्नुभयो । बजारको सधैँको कोलाहल, हिलो, धुलो र धुँवाको सामना गरिरहेकालाई घुमघाम तथा पुनर्ताजगीको लागि यो ठाउँ निकै उपयुक्त मानिन्छ ।