• ६ साउन २०८१, आइतबार

कर्णालीका विद्यार्थीले पाएनन् अझै पाठ्यपुस्तक

blog

रजनी योगी

सुर्खेत, साउन २८ गते । शैक्षिक सत्र सुरु भएको चार महिना बित्न लाग्दा पनि कर्णालीका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। अघिल्ला वर्षजस्तै यस वर्ष पनि विद्यालय तहका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउन सकेका छैनन्। भर्ना भएर विद्यालय गए पनि यो अवधिसम्म हजारौँ विद्यार्थीका हात खाली छन्।

प्रदेशभरका धेरै सामुदायिक विद्यालयले पाठ्यपुस्तककाे अभाव झेलिरहेको बताइएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित विद्यालयका विद्यार्थीसमेत पाठ्यपुस्तकको पर्खाइमा छन्। वीरेन्द्रनगर नगरपालिकाका सामुदायिक विद्यालयले पर्याप्त पाठ्यपुुस्तक पाएका छैनन्। प्रदेशका दुर्गम जिल्लाहरूको अवस्था उस्तै छ। 

वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीले पुस्तक नपाएको गुनासो गर्नुभयो। विद्यालयका शिक्षक यामलाल घिमिरेले बालबालिकाले पाठ्यपुस्तक पाउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकाले अहिलेसम्म सबै विषयका पाठ्यपुस्तक पाएको अवस्था छैन। किताब ढुवानीका लागि पुस्तक व्यवसायीहरूलाई जिम्मा दिइएको छ। अहिलेसम्म सबै किताब आइपुगेका छैनन्।”

पाठ्यपुस्तक पर्याप्त मात्रामा उपलब्ध नहुँदा बालबालिकाको पढाइ नै प्रभावित बनेको उहाँको भनाइ छ। उक्त विद्यालयमा ६, ८ र ९ कक्षाको पाठ्यपुस्तक आधा विद्यार्थीको हातमा मात्रै परेको बताइएको छ ।

वीरेन्द्रनगरकै अमरज्योति नमुना माध्यमिक विद्यालयका विद्यार्थीको पनि उही पिरलो छ। विद्यालय भर्ना भएको महिनौँसम्म किताब हातमा परेका छैनन्। विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले पाठ्यपुस्तकको छपाई र ढुवानीमा लापरबाही गरिँदा बालबालिकाको पढाइमा ठूलो असर परिरहेको बताउनुभयो। शिक्षकले बोर्डमा लेखाएका भरमा विद्यार्थी पढ्न बाध्य भएको उहाँले बताउनुभयो। वीरेन्द्रनगरका यी दुवै विद्यालय अत्यधिक विद्यार्थीको चाप हुने विद्यालयमध्ये पर्छन्। वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमको किताब ‘हाम्रो वीरेन्द्रनगर’ समेत ती विद्यालयमा उपलब्ध नभएको जनाइएको छ।

सरोकारवाला निकाय मौन

सुर्खेतसहित दैलेख, जाजरकोटलगायतका जिल्लामा पाठ्यपुस्तकको निकै अभाव छ। भेरी नगरपालिका जाजरकोटमा रहेको विजया माध्यमिक विद्यालयमा पाठ्यपुस्तक अभाव छ। पर्याप्त पाठ्यपुस्तक उपलब्ध नहुँदा बालबालिकाको पढाइमा असर परेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक हर्कबहादुर खड्काले विद्यालयमा कक्षा ६, ७ र ८ का विद्यार्थीले पाठ्यपुस्तकको अभाव बढी झेलिरहेको बताउनुभयो। समयमै पाठ्यपुस्तक नपाउँदा निरन्तर सिकाइमा असर परेको उहाँको भनाइ छ। कतिपय सामुदायिक विद्यालयमा पुस्तक अभाव रहेको भेरी नगरपालिका शिक्षा शाखाले जनाएको छ। शिक्षा शाखाका प्रमुख अमृतबहादुर पुनले सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढी भएकाले पनि पुस्तक अभाव भएको बताउनुभयो।

यस्तै दैलेखको दुल्लु नगरपालिकामा रहेको पञ्चकोसी माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन्। विद्यालयका प्रधानाध्यापक शिवराज खड्काले विद्यार्थीको हातमा पुस्तक नभएपछि गृहकार्य दिन समस्या भइरहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “विद्यालयमा सुनेको भरमा पठनपाठन गर्दा सिकाइ प्रभावकारी भएको छैन। पाठ्यपुस्तकको चरम अभाव भइरहे पनि सरोकारवाला निकायले बेवास्ता गरेको विद्यालय र अभिभावकको गुनासो छ।” 

गोदाममै छैनन् पर्याप्त पुस्तक

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको जनाएको छ। यी जिल्लाका लागि आवश्यक करिब ६० हजार थान पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ। 

जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा ८ को नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षालगायतका विषयको बढी नै अभाव रहेको बताउनुभयो। छपाइमा ढिलाइ हुँदा यस वर्ष पनि कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको उहाँको भनाइ छ। उहाँका अनुसार केन्द्रको प्रादेशिक गोदाम वीरेन्द्रनगरमा अहिले केही थान पुस्तकहरू छन्। तर, आवश्यकताभन्दा निकै कम भएकाले वितरण नगरिएको बताइएको छ। कक्षा ६, ७ र ८ का विद्यार्थीका पुस्तक पर्याप्त नभएको उहाँले जानकारी दिनुभयो। पुस्तक आपूर्ति नहुँदा वितरणमा कठिनाइ भइरहेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “अबको एक सातामा सबै कक्षा र विषयका पुस्तक उपलब्ध गराउने गरी समन्वय भइरहेको छ।”

पुस्तक व्यवसायीको अडान बाधक

पुस्तक व्यवसायीहरूले १५ दिनभित्र अपुग पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रको वीरेन्द्रनगरस्थित प्रादेशिक कार्यालयसँग माग गरेका छन्। पूरै सेट पाएपछि मात्रै खरिद गर्ने पुस्तक व्यवसायीको अडानका कारण भएका पुस्तकसमेत गोदाममै थन्किएका छन्। पाठ्यपुस्तक उपलब्ध गराउन नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, उद्योग वाणिज्य सङ्घ र प्रादेशिक कार्यालयबीच पछिल्लो पटक तीन बुँदे सहमति गरिएको छ। 

जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक वितरणमा उचित व्यवस्थापन गर्न नसकेको व्यवसायीको आरोप छ। पुस्तक व्यवसायीका छाता संस्थासँगको सहकार्य र समन्वयमा समानुपातिक रूपमा पुस्तक वितरण गर्नुपर्ने माग व्यवसायीले राखेका छन्। हाल गोदाममा रहेका पुस्तकसमेत अपर्याप्त भएको भन्दै थप पुस्तक उपलब्ध नहुँदासम्म वितरण नगर्ने सहमति गरिएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका प्रदेश अध्यक्ष कमल नेपालले प्रादेशिक कार्यालयको लापरबाहीले समयमै पाठ्यपुस्तक उपलब्ध नभएको बताउनुभयो। 

७१ हजार थान पाठ्यपुस्तक मौज्दात

जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा ४ देखि १० सम्मका १४ लाख एक हजार ७८९ थानमध्ये १३ लाख २९ हजार १४१ थान किताब वितरण गरिएको छ। ७१ हजार ६३८ थान पाठ्यपुस्तक भने गोदाममा मौज्दात छन्। गोदाममा मौज्दात रहेका पुस्तकमध्ये कतिपय च्यातिएका, पानीले भिजेका र अधुरा सेटसमेत रहेको जनाइएको छ। कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा जेठदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ। अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकोमा विद्यार्थी र उनीहरूका अभिभावक निराश बनेका छन्।