• २४ चैत २०८२, मङ्गलबार

खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्

blog

खाँडाचक्र नगरपालिकाको कार्यालय । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट, चैत २४ गते ।
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका निमित्तकै भरमा सञ्चालन भइरहेको छ। जिल्लाका अन्य आठवटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा खाँडाचक्र नगरपालिका भने नेतृत्वविहीन बनेको छ।

सरकारले ७५३ वटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको दाबी गरिरहेका बेला कालीकोट सदरमुकाम रहेको यस नगरपालिकामा दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत छैनन्। २०७४ सालयता अधिकांश समय नगरपालिका निमित्तकै भरमा चलेको छ।

गत भदौमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले रिक्त रहेका नगरपालिका र गाउँपालिकामा दरबन्दीअनुसार कर्मचारी पठाउने अभियान चलाउँदा लोक सेवा आयोग कर्णाली प्रदेशमा कार्यरत उपसचिव पदमबहादुर बुढाक्षेत्री यहाँ हाजिर हुनुभएको थियो।

तर हाजिर भएको १५ दिनमै मन्त्रालयले उहाँलाई दैलेखको दुल्लु नगरपालिकामा सरुवा गरेपछि खाँडाचक्र नगरपालिका फेरि निमित्तकै भरमा सञ्चालन भइरहेको छ। २०७९ सालको पाँच महिना र गत भदौ–असोजको १५ दिनबाहेक नगरपालिकाले दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन।

नगरपालिकाको स्वास्थ्य तथा सरसफाइ शाखामा कार्यरत वरिष्ठ अहेव रविन्द्र सेजुवालले दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकका धेरै काम समयमा हुन नसकेको बताउनुभयो। उहाँका अनुसार शिक्षा शाखा प्रमुखले जिम्मेवारी लिन नमानेपछि वरिष्ठताका आधारमा अर्को कर्मचारीलाई निमित्त बनाइएको भए पनि दरबन्दीअनुसारको अधिकारी नहुँदा निर्णय प्रक्रियामा समस्या हुने गरेको छ।

“धेरै काममा निमित्तलाई पनि समस्या हुन्छ, त्यसैले सेवाग्राहीका काम समयमै हुन सक्दैनन्,” सेजुवालले भन्नुभयो।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा अन्य कर्मचारीको उपस्थितिमा पनि असर परेको स्थानीयवासीको गुनासो छ। कार्यालय सहयोगी, राजस्व शाखा, रोजगार शाखा र प्रशासन शाखाबाहेक अन्य धेरै कर्मचारी नियमित रूपमा कार्यालयमा नबस्ने गरेको स्थानीय नेत्रबहादुर शाहीले बताउनुभयो।

“कर्मचारी नहुँदा सामान्य सिफारिससमेत समयमा पाउन कठिन हुन्छ। पावरफुल हाकिम भएको भए अरू कर्मचारी पनि नियमित आउँथे, तर निमित्तलाई धेरैले टेर्दैनन्,” उहाँले भन्नुभयो।

स्थानीयको गुनासोसँग मेल खाने प्रतिक्रिया नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीले पनि दिनुभयो। उहाँले कर्मचारी अनुशासन कमजोर भएको स्वीकार गर्दै आफूले धेरै दिन हाजिरीमा रातो लगाएको बताउनुभयो।

“मैले पनि धेरै दिन हाजिरीमा रातो लगाएको छु। यहाँ सुधार गर्ने कसैको मनसाय नभएजस्तो देखिएको छ,” उपप्रमुख शाहीले भन्नुभयो।