• ६ साउन २०८१, आइतबार

मकवानपुरबाट घट्दै छ निर्यात

blog

राममणि दाहाल 

हेटौंडा, साउन २८ गते । मकवानपुरबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापार बर्सेनि घट्न थालेको छ । दुई दशकअघिसम्म वार्षिक करिब अर्ब रुपियाँको निर्यात हुने गरेकामा अहिले केही करोडमा मात्र सीमित भएको छ । 

पछिल्लो तथ्याङ्कअनुसार गत आव २०७८/७९ मा मकवानपुरमा सञ्चालनमा रहेका निर्यातमूलक उद्योग र व्यावसायिक प्रतिष्ठानले १७ करोड ३० लाख रुपियाँको निर्यात गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घले जनाएको छ । त्यसअघि आव २०७७/७८ मा मकवानपुरबाट २३ करोड ६२ लाख रुपियाँको निर्यात भएको थियो । सङ्घका अनुसार आव २०७६/७७ मा भने मकवानपुरबाट २५ करोड ५७ लाख रुपियाँको निर्यात भएको थियो । उक्त वर्ष क्लोजर सिस्टम इन्टरनेसनल (नेपाल), युनिलिभर नेपाल लिमिटेड, गोदावरी पोलिप्याक्स एन्ड एफआईवीसी र इभान्स लाइफ साइन्सेसले आफ्नो उत्पादन भारत निकासी गरेका थिए । आव २०७७/७८ मा भने युनिलिभर नेपाल लिमिटेडबाहेकका उद्योगबाट उत्पादन भा रत निकासी भएको थियो । त्यसमध्ये एउटा व्यापारिक प्रतिष्ठान र चारवटा उद्योगले भारत र तेस्रो मुलुकमा खाद्य पदार्थसहित औद्योगिक उत्पादन निर्यात गरेको सङ्घको तथ्याङ्कमा उल्लेख छ । 

गत आवमा भने प्याक्ट ग्रुप क्लोजर सिस्टम इन्टरनेसनलले बोतलमा लाग्ने बिर्को, गोदावरी पोलिप्याक्स एन्ड एफआईवीसीले त्रिपाल र इभान्स लाइफ साइन्सेसले लोठसल्लाको पाउडर भारत निकासी गरेको देखिन्छ । त्यस्तै गुराँस ग्रुप इन्टरनेसनलले चाउचाउ, चिउरा, खुर्सानीलगायतका नेपाली उत्पादन अस्ट्रेलियामा र एडभान्स टेक्नोलोजी एन्ड मेसिन नेपालले फोहोर प्रशोधन गर्ने उपकरण जापान निर्यात गरेको सङ्घले जनाएको छ ।

एक दशकअघि आव २०६८/६९ मा मकवानपुरबाट ६७ करोड ८२ लाख रुपियाँ बराबरको निर्यात व्यापार भएको थियो । त्यसबेला आव २०६७/६८ मा २७ वटा उद्योगले निर्यात गरेकामा आव २०६८/६९ मा निर्यात गर्ने उद्योगको सङ्ख्या बढेर ३१ पुगेको थियो । क्रसरजन्य वस्तुको भारत निकासीका कारण पनि त्यतिबेला निर्यात व्यापार बढेको थियो । क्रसरबाहेकका एन्ट्राटिक बिस्कुट उद्योग, नेपाल इकरात इन्जिनियरिङ कम्पनी, माछापुच्छे« हर्बललगायतका नौवटा उद्योगले निर्यात गर्दै आएका थिए । 

२०४८ मा तत्कालीन सरकारले लिकको खुला तथा उदार अर्थनीतिका कारण हेटौँडा औद्योगिक क्षेत्रभित्र र बाहिर राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी स्थापना भएका थिए । निर्यातमा महत्त्वपूर्ण योगदान पु-याउँदै आएका कोडाक र कोल्गेट नेपाल छाडेर गइसकेका छन् भने युनिलिभर नेपाल लिमिटेडले निर्यात गर्न छाडेको छ । कोल्गेटका सबैजसो र युनिलिभरका कतिपय उत्पादन आयात हुने गरेको छ । कोल्गेट, युनिलिभरलगायतका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीले निर्यात गर्दै आएको मकवानपुरबाट दुई दशकअघि आव २०५७/५८ मा दुई अर्ब २९ करोड रुपियाँ बराबरको निर्यात व्यापार भएको थियो । 

सङ्घका अध्यक्ष कृष्णकुमार गुप्ताले निर्यात घट्दै जानुमा सरकारको निर्यात नीतिको पनि असर रहेको बताउनुभयो । लगानीमैत्री वातावरणसँगै निर्यातजन्य उद्योगलाई प्रोत्साहित गर्ने नीति भएमा मात्र निकासी बढ्ने उहाँको भनाइ छ । निर्यात व्यापारमा ह्रास आएसँगै नेपालको भारतसँगको व्यापार घाटा पनि बढ्दै गएको छ ।