• २३ चैत २०८२, सोमबार

इन्धन खपत कम गरौँ : निगम

blog

काठमाडौँ, चैत २३ गते । नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।  मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले गरेको शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो । 

“बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ,” प्रवक्ता ठाकुरले भन्नुभयो, “अहिले निगमलाई प्रतिलिटरमा रु. १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अत्यावश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नुभएन ।”

पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रीपरिषद् बैठकले सोमबारदेखि लागु हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने गाडीलाई विद्युतीय सवारीसाधन परिवर्तन गर्न कानुनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । 

निगमको तथ्याङ्क अनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । निगमका प्रवक्ता ठाकुर सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्नुपर्ने बताउनुहुन्छ ।

सरकारको निर्णय ठिक 

सरकारको यो निर्णय तत्कालका लागि आवश्यक भएको अर्थशास्त्रीको राय छ तर दीर्घकालीन समाधान छिट्टै खोज्नपर्ने उहाँहरूको सुझाव छ । 

अर्थशास्त्री इसान खरेल यो निर्णयलाई अपरिहार्य मान्नुहुन्छ । उहाँले तत्काल थप अन्य उपाय अपनाउन आवश्यकता औँल्याउनुभयो । 

अर्का अर्थशास्त्री डा. सन्तोष अधिकारीले यो निर्णय तत्कालका लागि उचित भएको प्रतिक्रिया दिनुभयो ।