काठमाडौँ, साउन २७ गते । सम्भाव्यता अध्ययनबिना नै खनिने टोले सडकले मुख्य राजमार्ग क्षतविक्षत बनाउन थालेका छन्। राजमार्गसँग जोडिएका गाउँ र टोलमा अव्यवस्थित सडकका कारण मुलुकभरका राजमार्ग र मुख्य सडक पहिरोले थिलथिलो बन्न लागेका हुन्। त्यसै कारण सडकमा पहिरो जाने, भासिने र अवरुद्ध हुने समस्याले जनधनको क्षति पनि हुने गरेको छ।
राजमार्गसम्म पहुँचमार्गका रूपमा गाउँ र टोलमा निर्माण भइरहेका सडक नै वर्षाको समयमा खहरे खोला बनी लेदो र गेग्रानसहित बग्दा बीपी राजमार्ग, पुष्पलाल राजमार्ग (मध्य पहाडी राजमार्ग), नारायणगढ–मुग्लिन सडक खण्डलगायतका राजमार्ग नराम्ररी बिग्रन थालेका छन्।
सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले पहुँचमार्गका रूपमा निर्माण भइरहेका सडकका कारण पहिरो आई मुलुकभरका राजमार्ग क्षतविक्षत बनाएको बताउनुभयो। उहाँले निर्माणाधीन टोले सडक भएर करिब चार सय मिटरमाथिबाट पहिरो जाने गरेको बताउनुभयो। यसै कारण सम्बन्धित ठाउँको ‘क्याचमेन्ट’ क्षेत्र परिवर्तन हुनुका साथै माथिबाट गेग्रान र लेदोसहित पहिरो आउने गरेको बताउनुभयो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले पनि विभिन्न राजमार्ग तथा मुख्य सडकमा आएका पहिरो सडक विस्तारको क्रममा ‘कटिङ’ गरिएका कारण नभई सडकसँगै विभिन्न गाउँटोलमा निर्माण भइरहेका पहुँच मार्गका कारण भएको बताउनुभयो।
सडक विभागका अनुसार यस वर्षको वैशाखदेखि साउन २६ गतेसम्म पहिरोकै कारण तीन हजार ५१९ घण्टा राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। विभागका सूचना अधिकारी श्यामकुमार यादवका अनुसार यो चार महिनामा २१ वटा राजमार्ग र मुख्य सडकका १२८ स्थानमा पहिरो गएको छ। त्यसमध्ये दुईतर्फी ११४ स्थान र एकतर्फी १२ स्थानमा यातायात सञ्चालनमा आइसकेका छन्।
पहिरोकै कारण १५ दिनसम्म राजमार्ग अवरुद्ध भएको विभागको तथ्याङ्क छ। त्यसैगरी गत आर्थिक वर्ष २०७८/७९ मा पहिरोका कारण दुई अर्ब रुपियाँभन्दा बढीको क्षति भएको थियो । चालू आवको आर्थिक क्षतिको विवरण आउन बाँकी छ। साँफेबगर–मार्तडी–कोल्टी राजमार्गको बाजुरास्थित अम्कोट–बल्दे भन्ने ठाउँमा तीन दिनदेखि यातायात अवरुद्ध छ। त्यसैगरी बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेँसी राजमार्गअन्तर्गत रसुवाको बनुवा भन्ने ठाउँमा बुधबारदेखि यातायात अवरुद्ध छ।
सूचना अधिकारी यादवका अनुसार प्रदेश सरकार र स्थानीय तहका साथै सांसद विकास कोष, निर्वाचन सडकलगायतको शीर्षकको बजेटबाट अनधिकृत रूपमा पहुँचमार्ग तथा शाखा सडक निर्माण भइरहेका छन्। दुई घर भएको ठाउँलाई पनि राजनीतिक दबाबमा राजमार्गसँग जोड्न शाखा सडक निर्माण गरिएको पाइएको उहाँले बताउनुभयो।
सडक डिभिजन कार्यालय चितवनका प्रमुख बाबुराम सापकोटाले राजमार्गसँग जोडेर बनाइएका पहुँचमार्गका कारण नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिकास्थित मौरी पुल नजिक, जुगेडी, दासढुङ्गा क्षेत्रमा पहिरो आएको बताउनुभयो। त्यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा एकातिरबाट पहिरो आउने भएकाले कम भए पनि मुग्लिनदेखि नौबिसेसम्म सडकको दुवैतर्फबाट पहिरो आउने भएकाले राजमार्गलाई नै क्षतविक्षत बनाएको छ। मुग्लिनदेखि नौबिसेसम्म ७२ ठाउँमा यस प्रकारका पहिरो आउने गरेको छ।
पुष्पलाल राजमार्ग (मध्य पहाडी राजमार्ग) आयोजना प्रमुख हरि पोखरेलका अनुसार पहुँचमार्गका कारण पूर्वदेखि पश्चिमसम्म नै राजमार्गमा पहिरो आई क्षति पु-याएको बताउँदै सिन्धुपाल्चोक, सिन्धुली, दैलेख, बागलुङमा बढी क्षति भएको जानकारी दिनुभयो।
ऐनको उल्लङ्घन
आयोजना प्रमुख पोखरेलका अनुसार सार्वजनिक सडक ऐन, २०३१ अनुसार राजमार्ग वा मुख्य सडकसँग जोडिएर कुनै संरचना निर्माण गर्नु परेमा तथा पहुँच सडक निर्माण गर्नुपूर्व सडक विभागसँग सहमति लिनुपर्ने हुन्छ तर अहिलेसम्म कुनै पनि स्थानीय तहले त्यस्तो सहमति लिएका छैनन्।
ऐनको उल्लङ्घन गरेको अवस्थामा कारबाही गर्ने प्रावधान रहे पनि सडक विभागले अहिलेसम्म कसैलाई कारबाही गर्न सकेको छैन। राज्यको अर्को निकायले नै बजेट विनियोजन गरेर यसरी राजमार्गलाई क्षति पुग्ने गरी काम गर्छ भने सडक विभागले कसलाई कारबाही गर्ने ? भन्ने प्रश्न उहाँको छ।
अध्ययनबिना नै सडक निर्माण
पूर्वसम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबिना नै यस प्रकारका टोले सडक निर्माण हुने गरेको उहाँको धारणा छ। बिनाअध्ययन गरिने विकासका कारण पहिरो आउने, जमिन भासिनेलगायतका समस्या आउँछन्। मूल सडकमा क्षति पु-याएर शाखा सडक निर्माणको कुनै अर्थ नरहने भन्नेसम्म नबुझेको जस्तो छ।