• ९ मंसिर २०८१, आइतबार

६८ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट

blog

काठमाडौँ, साउन २५ गते । सात प्रदेशका ६८ स्थानीय तहले अझै बजेट सार्वजनिक गरेका छैनन् ।आर्थिक वर्ष २०७८/७९ असार १० मा बजेट पारित गरेर पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि ती स्थानीय तहले अझै सार्वजनिक गरेका छैनन् ।

चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना सकिन लाग्दा पनि बजेट पेस हुन सकेको छैन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभर ७५३ स्थानीय तहमध्ये ६८५ स्थानीय तहले मात्र हालसम्म बजेट पेस गरेका छन् । ६८ स्थानीय तहले तोकिएको मिति नाघेको एक महिनाभन्दा बढी हुँदासमेत बजेट सार्वजनिक गरेका छैनन् । 

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले अनिवार्य रूपमा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धेरैले बजेट ल्याउन नसकेको बताउनुभयो । 

बजेट पेस नभएसम्म सार्वजनिक गरे नगरेको जानकारी नहुने भएकाले अनिवार्य रूपमा पेस गर्नुपर्छ, बजेट पेस गर्नका लागि दुई पटक सूचना सार्वजनिक गरे पनि ६८ वटा स्थानीय तहले बजेट पेस गर्न नसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बजेट पेस नगर्ने निकायलाई कारवाही गर्ने अधिकार हाम्रो होइन ।” बजेट पेस नगरेका ६८ स्थानीय तहमध्ये मधेश प्रदेशका ३९ स्थानीय रहेको मन्त्रालयको विवरणमा उल्लेख छ । मधेश प्रदेशमा रहेका कुल १३६ स्थानीय तह रहेका छन् । मधेश प्रदेशमा बजेट पेस गर्ने स्थानीय तह ७१.३ प्रतिशत रहेका छन् । यस्तै मधेश प्रदेशका २८.७ प्रतिशत स्थानीय तहले अझै बजेट पेस गरेका छैनन् ।

 यस्तै प्रदेश १ मा पाँचवटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । १३७ स्थानीय निकाय रहेकोमा १३२ वटाले पेस गरेको मन्त्रालयको तथ्याङमा उल्लेख छ । यस्तै बागमती देशमा ४ वटा स्थानीय तहले बजेट पेस गरेका छैनन् । ११९ स्थानीय निकाय रहेकामा ११५ वटाले मात्र बजेट पेस गरेका छन् ।

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये एउटा स्थानीय तहले बजेट सार्वजनिक गरेको छैन । यस्तै लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये १० वटाले अझै बजेट सार्वजनिक गरेका छैनन् ।

कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये चारवटाले बजेट सार्वजनिक गरेका छैनन् । यस्तै सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये पाँचवटाले बजेट सार्वजनिक गरेका छैनन् । यसरी स्थानीय तहहरूले तोकिएको समयमै बजेट तथा कार्ययोजना पेस गर्न नसक्नुले स्थानीय तहको प्रशासकीय क्षमतामै प्रश्न उठ्ने गरेको छ । कतिपय स्थानीय तहले बजेट नै ल्याउन सकेका छैनन् भने कतिको अपडेट गर्न बाँकी छ ।

यस्तै अछामको पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेले स्थानीय स्तरमा लफडा भएकाले समयमा बजेट ल्याउन नसकिएको बताउनुुभयो । बजेट तयारी अवस्थामा रहेको र आगामी भदौ १५ गतेसम्म बजेट ल्याइने उहाँले जानकारी दिनुुभयो ।

यस्तै मधेश प्रदेशको हनुमाननगर कङ्कालिनी नगरपालिका प्रमुख वीरेन्द्र माझीले करार कर्मचारीको म्याद थप गर्न पालिकाबाट सहमति नभएकाले बजेट ल्याउन नसकिएको बताउनुुभयो । बजेट सबै तयारी भएकाले घोषणा गर्न मात्र बाँकी रहेको उहाँले बताउनुभयो । 

रामेछापको लिुख गाउँपालिका अध्यक्ष केशव महतले नेटको समस्याले बजेट अपडेट गर्न नसकिएको बताउनुुभयो । चटयाङले गर्दा लाइन गएकाले अपडेट गर्न समस्या परेको बताउनुुभयो । यस्तै मोरङको धनपालथान गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले आफूले बजेट सार्वजनिक गरेपछि मन्त्रालयको पोर्टलमा त्यो अपडेट नभएको दावी गर्नुभयो । डोटीको सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बजेट पास भइसकेको कर्मचारी अभावले गर्दा अपडेट हुन नसकेको बताउनुभयो ।