गत हप्ताभरि विश्वका प्रमुख सञ्चारमाध्यममा नेपालले बाघको सङ्ख्या घोषणा गरेको सन्दर्भ जोडतोडका साथ उठ्यो । सर्वाेच्च शिखर सगरमाथा, शान्तिका दूत गौतम बुद्धलगायत केही कुराले बेलाबेला नेपालको सन्दर्भ विश्वको समाचार बजारमा आउने गरेको थियो । यो पटक भने नेपालले बाघको सङ्ख्या दोब्बर बनाएको समाचार संसारभरि छायो । यो दशकका शक्तिशाली व्यक्ति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायती राजकुमार ह्यारी, नेदरल्यान्डसका राजा विलेम अलेक्जेन्डर लगायतका व्यक्तिले नेपालले बाघको सङ्ख्या बढाएको भन्दै खुसी व्यक्त गरे । नेपालले बाघ संरक्षणमा प्राप्त गरेको सफलतालाई बधाई दिए । केही वर्षअघि बेलायती राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको अनुगमन गर्न क्यामरा ट्रयापिङ कार्यको शुभारम्भ गर्नुभएको थियो ।
हलिउड अभिनेता लिओनार्दाे डिक्याप्रियोले नेपालले बाघ दोब्बर गरेको भन्दै सामाजिक सञ्जालमा बधाई दिनुभयो । लगत्तै सिएनएन टेलिभिजनले छोटो प्रतिक्रिया माग्यो र उहाँले भन्नु भयो, ‘म नेपालमा बाघको घरमै एक पटक पुगेको छु । फेरि पुग्ने रहर जागेको छ । त्यहाँ गएर बाघ नम्बर ३५५ हेर्ने इच्छा छ । अब नेपाल घुम्दा मेरी प्रियसीलाई साथमा लिएर जाने योजना बनाएको छु ।’
अभिनेता लियोनार्दाे सन् २०१० मा बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर ‘सेभ द टाइगर्स’ अभियानमा सहभागी भएर फर्कनु भएको थियो । उहाँको कारणले पनि नेपालको बाघ संरक्षणले अन्तर्राष्ट्रिय जगत्मा त्यति बेला खुबै चर्चा पाएको थियो ।
करिब एक सय वर्ष पहिले एक लाखभन्दा बढी बाघ प्राकृतिक बासस्थानमा अस्तित्वमा थिए । सन् २०१० मा आइपुग्दा त्यो सङ्ख्या घटेर तीन हजारमा सीमित हुन पुग्यो । बाघका सौखिन रुसी राष्ट्रपति पुटिनले बाघको सङ्ख्या विनाशबारे चिन्ता लिएर विश्वमा बाघ पाइने १३ वटा मुलुकका राष्ट्र प्रमुखको पहिलो बाघ सम्मेलन आयोजना गर्नुभयो । सो सम्मेलनमा तत्कालीन अवस्थामा आआफ्नो मुलुकको बाघको सङ्ख्यालाई सन् २०२२ सम्म दोब्बर पार्ने प्रतिबद्धता व्यक्त गरियो । नेपालमा सन् २००९ मा गणना हुँदा १२१ वटा बाघ रहेका थिए । सम्मेलनमा नेपालले सो सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर अर्थात् २५० पु-याउने प्रतिबद्धता व्यक्त गरेको थियो । १२ वर्षको अवधिमा नेपालले बाघको सङ्ख्या दोब्बर होइन, झन्डै तेब्बर बनाउन सफलता प्राप्त ग¥यो । त्यही भएर पनि होला संसारले नेपाललाई यो पटक फरक ढङ्गले हे-यो । नेपालले प्राप्त गरेको सफलताको विश्व समुदायबाट सरहाना भयो । युक्रेनको द्वन्द्वमा फसेका रुसी राष्ट्रपति पुटिनले समेत समय निकालेर नेपाललाई ‘बधाई छ नेपाल, गर्व गर्नुपर्छ नेपालको कामलाई’ भन्ने भ्याउनु भयो ।
सन् २०२२ को विश्व बाघ दिवसका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा र विशिष्ट अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल हुनुहुन्थ्यो । सन् २०१० मा नेपालको तर्फबाट पहिलो विश्व बाघ सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधित्व गर्नुभएको थियो र सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर गर्ने प्रतिबद्धता व्यक्त गरेर आउनु भएको थियो । बाघ घोषणा कार्यक्रममा जब प्रधानमन्त्री देउवाले बाघको सङ्ख्या सार्वजनिक गर्नुभयो अनि पूर्वप्रधानमन्त्री नेपालले देउवालाई बधाई दिँदै भन्नुभयो, ‘‘मैले सपना देखेँ, तपाईंले पूरा गर्नुभयो । लौ बधाई छ ।’’
प्रधानमन्त्री देउवाले बधाई साट्दै पूर्वप्रधानमन्त्री नेपालसँग भन्नुभयो, ‘‘३५५ बाघ त पुगे भन्यौँ तर यो बाघ हेर्न कहिले जाने ? धेरै बाघ नहेरे पनि ३५५ नम्बरको बाघ त हेर्न जानै पर्छ तर अलि फुर्सदमा ।’’
पूर्वप्रधानमन्त्री नेपालले देउवासँग भन्नुभयो, ‘‘मैले पनि बाघ काँ हेरेको छु र ? अब त्यही ३५५ नम्बर बाघ भए पनि हेर्न जानै पर्छ । कार्यक्रम मिलाउनु प-यो । एक दिन जानैपर्छ ।’’
थपियो चुनौती
सन् २०१० यता १२ वर्षको अवधिमा नेपालमा २३४ वटा बाघ बढ्यो । बाघ बढेको खुसी त एकातिर छँदैछ तर यो अवधिमा बाघको आक्रमणबाट नेपाली समाजले ठूलो सङ्ख्यामा मानिस गुमायो । १० वर्षको अवधिमा ८० जनाको बाघको आक्रमणमा परेर ज्यान गयो । तिनका परिवार आफन्तको वियोगमा दुःखी छन् । अभिभावक गुमाएर कतिपय व्यक्ति टुहुरा भएका छन् । दुई सय सयभन्दा बढी व्यक्तिलाई बाघले घाइते बनाएको छ । ती घाइते व्यक्ति कोही अपाङ्गता भएर जीउन बाध्य छन् त कोही ओछ्यानमा जिन्दगी काटिरहेका छन् ।
वन्यजन्तुबाट विशेष गरी निकुञ्ज वरिपरिका गरिबभन्दा पनि गरिब परिवार बढी पीडित हुने गरेका छन् । जुन समुदायले वनजङ्गलमा आश्रित भएर गुजारा चलाउनु पर्छ, तिनै व्यक्ति वन्यजन्तुबाट प्रताडित भइरहेका छन् । घाँस, दाउरा अनि साग, निहुरो टिप्न जङ्गल पसेका व्यक्तिमाथि बाघले हमला गर्ने गरेको छ ।
यद्यपि तिनै समुदायको साथ र सहयोगले मुलुकले यो सफलता हासिल गरेको हो । मुलुकको नाक उँचो राख्न स्थानीय समुदायले बाघको मुखमा मृत्यु साटेर भए पनि बाघ संरक्षणमा कुनै सौदाबाजी गरेका छैनन् । स्थानीय समुदायको यो धैर्यता र खुसी भोलिका दिनमा झन् बोझिलो पीडा बन्नु हुँदैन । बरु निकुञ्जभित्रका बाघ स्थानीय समुदायका समृद्धिका आधार बन्नुपर्छ । बाघ पालेर त हाम्रो पनि उन्नति, प्रगति भएको छ भन्ने सन्देश निकुञ्ज वरिपरिका बस्तीमा दिन जरुरी छ ।
नेपालका सबै वनजङ्गलमा बाघ पाइने होइन, बाघ पाइने पाँच वटा निश्चित ठाउँ छन् । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा निकुञ्ज र ती निकुञ्जसँग जोडिएको आसपासका क्षेत्रमा मात्र बाघ पाइने गरेको छ । विश्व समुदायका नजरमा नेपालको यो तराई भूपरिधि निकै लोभलाग्दो र बाघका लागि उर्वर भूमिका रूपमा रेखाङ्कित छ । नेपालमा बाघ बढ्नु केबल नेपालीका लागि मात्र उत्साहको कुरा होइन, यो त विश्व समुदायका लागि उपहार पनि हो । विश्व समुदायले अरू क्षेत्रमा प्रगति गरेका होलान् तर समग्र मानव जातिका लागि दुर्लभ वन्यजन्तु बाघ उपहार दिने काम नेपालले गर्न सकेको छ । बाघ पाइने अन्य मुलुकहरू बङ्गलादेश, म्यानमार, मलेसिया, इन्डोनेसिया, लाओस, कम्बोडिया, थाइल्यान्ड र भियतनामले विश्व समुदायलाई त्यो उपहार अझै दिन सकेका छैनन् । यीमध्ये कतिपय देशमा बाघको सङ्ख्या बढ्नुको सट्टा घट्दै गइरहेको तथ्याङ्क सार्वजनिक भएका छन् । नेपालले गरेको यो सत्प्रयास समग्र मानव समुदायका लागि हो भन्ने प्रमाणित भएको छ ।
वैकल्पिक खेती विस्तार
वनजङ्गल वरिपरि बसेर वन्यजन्तुको त्रास सहेर बस्नु साँच्चिकै पीडादायी हुने गर्छ । न लगाएको बाली भित्र्याउन पाइन्छ न रातविरात घरबाहिर निस्किन पाइन्छ । बीउ छर्दा नछर्दै बाँदरले टिपेर खानेदेखि फलेपछि रातभर जाग्रम बस्दा पनि बाली जोगाउन सकिँदैन । घाँस, दाउरा गर्न जङ्गल पसौँ, फर्केर घर आइन्छ कि आइँदैन, ठेगान हुँदैन । वनजङ्गलभरि निहुरो, पानी साग जति पनि छ, टिप्न जाँदा बाघको आहारा बन्ने हो कि हात्तीले कुल्चेर मार्ने हो भन्ने त्रास हुन्छ । यी र यस्तै सास्ती भोग्न नसकेर हुने खानेहरू त सुरक्षित ठाउँमा बसाइँ सर्ने गर्छन् । हुँदा खानेहरूको जाने ठाउँ नभएपछि वन्यजन्तुसँगको द्वन्द्वमै जीवन गुजार्नु पर्ने हुन्छ । पछिल्ला दिनमा बाघको सङ्ख्यासँगै गैँडा र हात्तीको सङ्ख्या पनि वृद्धि भएका छन् । वन्यजन्तुको सङ्ख्या वृद्धिमा एकहदसम्म नेपालले आफ्नो लक्ष्य पूरा गरे पनि अबको कार्ययोजना तिनै वन्यजन्तुबाट पीडित हुनुपर्ने स्थानीय बासिन्दाको सुरक्षा, खेतीप्रणालीमा सुधार तथा जीविकोपार्जनको व्यवस्थाका लागि हुनुपर्छ । धान, गहुँ, मकैजस्ता अन्न बाली वन्यजन्तुले मन पराउने गरेको भए पनि कतिपय जडीबुटीजन्य तथा सुगन्धित तेलसँग सम्बन्धित बालीलाई वन्यजन्तुले नखाने भएकाले आउँदा दिनमा त्यस्ता खालका बालीनाली लगाउनेतर्फ प्रोत्साहन गरिनुपर्छ ।
पानी साग, निहुरो टिप्न जानुपर्ने स्थानीय बासिन्दाको अवस्थालाई सुधार गर्न वैकल्पिक सीप तथा रोजगारीका अवसर प्रदान गर्नुपर्छ । कृषि प्रणालीमा आश्रित स्थानीय बासिन्दालाई पर्यटन तथा होटल व्यवसायका तालिम प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिनुपर्छ ।
बासस्थानमा सुधार
बाघको सङ्ख्या बढ्यो भन्ने समाचारले जति उत्साह दिएको छ, त्यति नै जटिल ढङ्गले बाघ व्यवस्थापनमा चुनौती थपिएका छन् । बाघ हिंस्रक वन्यजन्तु हो । ‘बाघ बरु मर्छ कहिल्यै घाँस खाँदैन’ भन्ने नेपाली समाजमा उखान नै छ । बाघलाई विचरण क्षेत्र ठूलो हुनुपर्छ । एक दिनमा बाघले झन्डै १० किलोमिटर हिँडडुल गर्छ । एक पटकलाई कम्तीमा १५÷१६ किलो मासु चाहिन्छ एउटा वयस्क बाघलाई । एउटा जङ्गलमा एउटा मात्र बाघ बस्न सक्छ । त्यसैले बाघ बढेसँगै बासस्थानको बिस्तार र उसको आहार प्रजातिको सङ्ख्या बढाउने चुनौती नेपालका सामु झन् पेचिलो ढङ्गले देखा परेका छन् ।
सङ्घीयताको कार्यान्वयनसँगै वडादेखि प्रदेशसम्म र प्रदेशदेखि सङ्घीय सरकारसम्म विकासका योजना थामी नसक्नु गरी बढेका छन् । ती सबै योजनाको रोजाइ वनजङ्गल हुने गरेको छ । यसरी हेर्दा हरेक वर्ष वनजङ्गलमाथिको दबाब थेगी नसक्नु छ । त्यस कारणले गर्दा बाघको बासस्थान बिस्तार गर्ने भन्ने कुरा त्यति सहज छैन तर जसरी नेपालले बाघको सङ्ख्या बढायो अब बासस्थान विस्तार र सुधार गर्नुको विकल्प पनि छैन । बासस्थान भएन, आहारा भएन भने स्वाभाविक रूपमा बाघ बस्तीमा पस्छ, बाघले खाने कि मान्छे हो कि घरपालुवा जनावर हो । त्यो स्थिति आयो भने बाघ संरक्षणप्रतिको समाजले कस्तो प्रतिक्रिया देखाउला ? हिजोका दिनमा अनैकौँ पीडा र सास्ती रहेर भएपनि बाघ संरक्षणमा दिनरात कस्सिएका समुदाय सधैँ पीडा सहेर बस्लान् भन्न सकिँदैन । त्यसैले होला भएको क्षेत्रलाई थप व्यवस्थित गर्दै पानीको स्रोतको दिगो व्यवस्थान, घाँसे मैदान तथा आहारा प्रजातिको वृद्धि गर्नुपर्ने देखिन्छ ।
निकुञ्जभित्रका बाघ स्थानीय समुदायका समृद्धिका आधार बन्नुपर्छ । बाघ पालेर त हाम्रो पनि उन्नति, प्रगति भएको छ भन्ने सन्देश निकुञ्ज वरिपरिका बस्तीमा दिन जरुरी छ ।
निकुञ्जभित्र बाघ पाल्न सक्ने वातावरण तयार गर्नुपर्ने चुनौती त एकातिर छँदैछ, अर्कातिर बढ्दो चोरीसिकार नियन्त्रण गर्न सक्नु झन् जटिल काम हो । वन्यजन्तुको आखेटोपहारको अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल निकै बलियो भएकाले चोरीसिकारबाट बाघजस्ता दुर्लभ वन्यजन्तुलाई बचाउन सक्नु पर्छ । चोरी शिकार नियन्त्रणका लागि स्थानीय समुदायको सहयोग र समन्वयविना सम्भव नभएकाले स्थानीयमा संरक्षणको जागरणको अभियान पनि सञ्चालन गर्नुपर्छ ।
सहअस्तित्वको नीति
बाघ केका लागि ? बाघ महत्त्वपूर्ण कि मानिस ? यी दुई सवाल सधैँ उठ्ने गरेका छन् । अन्य वन्यजन्तुभन्दा बाघबाट हुने नोक्सानीको प्रकृति पनि फरक छ । बाघ हिंस्रक प्रजातिको वन्यजन्तु भएकाले यसले बालीनाली, घर अन्य भौतिक संरचनामा नोक्सानी नगरेर मानिसको ज्यानै लैजाने भएकाले बाघले गरेको क्षति अपूरणीय हुने गर्छ ।
बाघ हिंस्रक, विवेकहीन र बोल्न नसक्ने प्राणी हो । उसले आफ्ना लागि केही गर्न सक्दैन । जे फेला प¥यो आहाराका लागि गाँस निल्ने मात्र हो तर मानिस त विवेकशील प्राणी भएकाले आफू बचेर बाघलाई पनि बचाउनु कर्तव्य हो । मानव र बाघबीचको सहअस्तित्व नै अहिलेको मुख्य कार्यभार भएकाले सरकारले आफ्ना रणनीति बनाउँदा, स्थानीय समुदायलाई प्रशिक्षित गर्दा सहअस्तित्वको रणनीति र कार्यदिशा दिन सक्नुपर्छ ।
घाँस, दाउरा गर्न जङ्गल पसौँ, फर्केर घर आइन्छ कि आइँदैन, ठेगान हुँदैन । वनजङ्गलभरि निहुरो, पानी साग जति पनि छ, टिप्न जाँदा बाघको आहारा बन्ने हो कि हात्तीले कुल्चेर मार्ने हो भन्ने त्रास हुन्छ ।
एक भारी घाँस, दाउरा र एक मुठा निहुरो टिप्न जाने क्रममा मानिसको ज्यान जाने कुराको अन्त्य गर्न स्थानीय बासिन्दालाई जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिनुपर्छ । वन्यजन्तुका कारणले लगाएको खेतीबाली भिœयाउन नपाउँदै सधैँ अभावको जीवन जीउन बाध्य सीमान्तकृत परिवारलाई वन्यजन्तुले नखाने वैकल्पिक खेती प्रणालीको विकास र रोजगारीको प्याकेज सञ्चालन गर्न सके मानव वन्यजन्तु सहअस्तित्वको लक्ष्य प्राप्त गर्न सकिने देखिन्छ ।
वन्यजन्तु कूटनीति र पर्यटन प्रवद्र्धन
बाघ पर्यटनको मुख्य आधार पनि हो । बाघ संरक्षणमा यति ठूलो सफलता गरेको मुलुकले आगामी दिनमा वन्यजन्तु कूटनीतिमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्नुपर्छ । वन्यजन्तुलाई हेर्न निस्कने पर्यटकहरूलाई संसारका बढी पैसा खर्च गर्ने पर्यटक मानिन्छन् । वन्यजन्तुको दृश्यावलोकन, आनीबानी व्यवहारसँग रमाउन चाहाने पर्यटकको लामो बसाइ हुने हुँदा वन्यजन्तु हेर्न आउने पर्यटकलाई लोभ्याउने होडबाजी संसारमै चलेको छ । नेपालका लागि बाघको सङ्ख्या उल्लेख्य मात्रामा बढाएको सुनौलो मौकालाई सदुपयोग गर्न सक्नुपर्छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई परिचालन गरी नेपालमा बाघ हेर्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्ने खालका योजना निर्माण गरी त्यसतर्फ ध्यान दिनुपर्छ ।
कोभिडले थला परेको अर्थतन्त्रलाई उकास्न सक्ने मुलुकको आर्थिक एजेन्डा ‘बाघ पर्यटन’ बनाउन सकिन्छ । निकुञ्ज छिर्नेबित्तिकै बित्ताबित्तामा देखिने बाघलाई अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्न सके अर्थतन्त्रमा सहयोग पुग्नेछ ।
नेपालमा भित्रिने पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी पर्यटक प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको दृश्यावलोकन गर्न संरक्षित क्षेत्रभित्र घुम्ने गरेका छन् । यो सङ्ख्यालाई हेर्दा पनि आउँदा दिनमा बाघ पर्यटनको अभियानलाई नेपालले विश्व बजारमा बेच्न सक्ने असल ‘ब्राण्ड’ बन्न सक्छ ।