होमराज रानाभाट
कावासोती (नवलपरासी), असोज २८ गते । तीन पटकसम्म थपिएको म्याद सकिएर पुनः म्याद पाएपछि काम भइरहेको बुटवल–नारायणगढ सडक निर्माणले अहिले भने तीव्रता पाएको छ । गत साउनबाट एक वर्षको म्याद पाएको ठेकेदार कम्पनीले अहिलेसम्म ७२ प्रतिशत काम सम्पन्न गरेको छ ।
विगत वर्षमा निर्माणले गति लिन नसक्दा सधैँ आलोचित हुँदै आएको चाइना कन्स्ट्रक्सन प्रालिले अन्तिम पटकका लागि साउन ८ गतेसम्मलाई म्याद पाएको हो । सो म्यादभित्र निर्माण सम्पन्न हुने सडक डिभिजन कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले बताउनुभयो ।
सो सडकको ठेकेदार पक्षले म्याद डेढ वर्ष थप्न माग गरे पनि सरकारले २०८३ साउन ८ गतेसम्मलाई अन्तिम पटक म्याद थप पाएको बुटवल–नारायणगढ सडकखण्डका प्रवक्ता इन्जिनियर खनालले बताउनुभयो । सडक निर्माणमा भइरहेको ढिलाइले धेरै आलोचित बन्न थालेपछि सरकारले अन्तिम पटकका लागि म्याद थपेको सडक आयोजनाले जनाएको छ ।
सडक आयोजनाको तेस्रो पटक म्याद थपिएपछि एक वर्ष त्यो पनि अन्तिम पटकका लागि म्याद थप भएको प्रवक्ता खनालले बताउनुभयो । ठेकेदार पक्षसँगको छलफलमा अहिलेसम्म भएका कार्यले समयमै सडक बन्न नसक्ने अवस्था आएकाले अहिले राति पनि कार्य गरिएको र सोका लागि जनशक्तिको व्यापक परिचालन गरेर काम अघि बढाइएको इन्जिनियर खनालले जानकारी दिनुभयो ।
असोज २५ सम्म ७२ प्रतिशत काम सकिएको छ भने दाउन्ने र अन्य केही भागलगायतमा अहिले पनि काम तीव्र गतिमा भइरहेको र आगामी साउनसम्ममा आयोजना निर्माण सम्पन्न हुने गरी ठेकेदार पक्षले चौबिसै घण्टा काम गरिरहेको छ । अन्तिम पटक म्याद थपिएकोले निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी सहमत भएको जनाइएको छ । यो आयोजनाको हालसम्म ९४ किलोमिटर एकतर्फी कालोपत्रे र ८० किलोमिटर दोहारो कालोपत्रे सम्पन्न भएको इन्जिनियर खनालले बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्डको निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा ४२ महिनामा सक्ने गरी ठेक्का लिएको कम्पनीले ८६ महिना पुग्न लाग्दा पनि काममा तीव्रता दिन नसकेपछि आलोचित हुँदै आएको हो । विसं २०७५ असारमा १६ अर्ब ९९ करोड रुपियाँमा ठेक्का लिएको इन्जिनियर खनालले बताउनुभयो ।
नारायणगढ–बुटवल सडकखण्डको ११३ किलोमिटर सडक हालको दुई लेनलाई बढाएर चार लेनको बनाउने, बजार क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेनसम्मको सडक विस्तार तथा स्तरोन्नति गर्ने गरी दुई भागमा विभाजन गरेर निर्माण सुरु भएको सडक एसियाली मापदण्डमा आधारित हुने इन्जिनियर खनालले भनाइ छ ।