बाजुराको पश्चिमी क्षेत्र र अछामको चौखुट्टेलगायतका ठाउँबाट पर्यटकीय र धार्मिक क्षेत्र बडिमालिका सहितका तीन चुचुरा नजरमा पर्दा जो कोहीको मन लोभिन्छ। हिउँदका महिनामा हिउँले छोपिने बडिमालिका शृङ्खला अझ धेरै रोमाञ्चक देखिन्छन्।
धार्मिक ग्रन्थ श्रीस्वस्थानीमा बडिमालिकामा महादेवकी पत्नी सतिदेवीको बायाँ कुम पतन भएको चर्र्चा छ। हरेक वर्ष जनैपूर्णिमा अघि त्रयोदशी, चतुर्थदशीमा त्यहाँ लाग्ने मेला भर्न बाजुरा, अछाम, डोटी, कालीकोटबाट मात्रै होइन देशका विभिन्न ठाउँ र भारतबाट समेत तीर्थालु आउँछन् ।
बडिमालिकामा यस पटक त्रयोदशी साउन २५ र चतुर्दशी साउन २६ गते मेला र पूजाआजा हुनेछ। जनैपूर्णिमाकै दिन बडिमालिका पछि आउने नाट्यश्वरी मन्दिरमा ठूलो मेला लाग्छ।
बडिमालिकामा दशहरा मेलामा पनि पूजा लाग्ने गर्दछ तर जनैपूर्णिमाको बेला धेरै श्रद्धालु बडिमालिका पुग्छन्।
बाजुरा, अछाम र कालीकोटका प्रायः मानिस बडिमालिका जान्छन्। केही गरेर जान पाएनन् भने त्रोदशी र चतुर्दशीको राति विवाहित महिला रातभर ‘यसपाला बडिमालिकामा माईले क्या वर दिन्नी...’ भन्ने गीत गाएर जाग्राम बस्छन्।
मालिका जानका लागि आधा दर्जन जति बाटो छन् तर मार्तडी वा जडाङ्गा कोध्र्रको बाटो हुँदै जाँदा सबैभन्दा सहज हुन्छ। मालिका जानका लागि यी दुई बाटा बढी प्रचलित छन्। धार्मिक हिसाबले त्रिवेणी नगरपालिकाको पैमा गाउँ अर्थात बडिमालिकाको भण्डाराबाट यात्रा सुरु गर्न राम्रो मानिन्छ । पैमाबाट दशमीका दिन मूर्तिसहित पुजारीको टोली बडिमालिका जाने गर्छ।
मार्तडी वा जडाङ्गाबाट मालिका क्षेत्रको यात्राका लागि सामान्यतया चार दिन लाग्दछ। बडिमालिका जाँदा उकालो
काट्नेबित्तिकै अनौठा खालका ढुङ्गा, खोला, मैदान सुरु हुन्छ। देउलेकमा मार्तडी र जडाङ्गाबाट आएका दुई बाटोको भेट हुन्छ। त्यसपछि घोडा दाउने, लोध हुँदै भित्तो चिर्ने भन्ने ठाउँमा पहिलो रातको बास बस्नुपर्ने हुन्छ।
जडाङ्गातर्फबाट आएकाहरू भने प्रायः लोधमै बास बस्छन्। ‘बडिमालिकामा मरेपछि वा पुगेर फर्केपछि स्वर्ग पुगिन्छ, मागेको वर पाइन्छ’ भन्ने विश्वासले प्रायः वृद्धवृद्धा मालिका जाने गर्छन्।
उमेर २० वर्षमुनिका र ७० वर्षमाथिकाले विषफूललगायतका कारण जानु त्यति राम्रो मानिन्न। मालिका यात्राका क्रममा विषफूल, हिमचितुवा, हिमाली भालुको जोखिम हुन सक्छ। त्यो क्षेत्रमा हिमचितुवा, हिमाली भालुका साथै नाउर, कस्तुरी मृग, वनकुकुर आदि वन्यजन्तु पाइन्छन्।
बाटोमा भोक लाग्दा खानका लागि सातु साथै लैजानुपर्छ । चिसोबाट जोगिन खुर्सानीको अचार र चुक लिनुपर्छ। चिसोले होला खुर्सानी जति खाँदा पनि पिरो लाग्दैन। प्रायः पानी परिरहने भएकाले पाल, छाता वा रेनकोट बोक्नु राम्रो हुन्छ।
दोस्रो दिन ओरालो झरेपछि कोर्दाली गाडको मुहान भेटिन्छ फेरि उकालो चढ्दा त्रिवेणी क्षेत्र आउँछ। सुन्दर फाँट, बाटोमा भेडाको बथान, घरी आउने, घरी जाने कुहिरो, सानासाना भन्ज्याङ रोमाञ्चक लाग्छन्।
त्रिवेणीको खेतीवेती अझ गज्जब छ। खेतीवेती र गलैँचा ओछ्याए जस्ता समथर ठूल्ठूला २२ गरा (पाटन)ले बडिमालिका क्षेत्रलाई बिर्सनै नसकिने बनाएको छ। खेतीवेतीमा धान पाक्न थाले जस्तो, केही ठाउँमा बीउ राखेजस्तो त केही ठाउँमा रोपाइँ भइरहेजस्तो दृश्य देखिन्छ। मौसम राम्रो हुँदा त्रिवेणीबाट पूर्वतिर कर्णाली नदी र कालीकोटको रास्कोट गाउँ देखिन्छ। त्रिवेणीमा दोस्रो रात बसेर मालिका जाँदा बिहान नुहाएर बडिमालिकाको दर्शन गरे फल मिल्छ भन्ने विश्वास छ। १४ हजार फिटको उचाइमा बडिमालिका मन्दिर रहेको छ।
त्रिवेणीमा दूधका विभिन्न परिकार र शाकाहारी पकवान पाइन्छ। चतुर्दशी अर्थात् तेस्रो दिन बडिमालिकामा पूजा गरेर त्यही चुचुरोमा बास बस्नुपर्छ । त्रिवेणीबाट मालिका जाँदा त्रिवेणी र वरपर झनै राम्रा दृश्य देखिन्छन्। त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा आउँछ। निकै बलियाले पनि एकै रन्कोमा त्यो सजिलै लाग्ने ठाडो उकालो दौडेर पार गर्न सक्दैनन्।
लगत्तै लौरीविनायकमा लट्ठी चढाउने गरिन्छ। त्यसपछि आउने जोगी पहिरोमा वर मागिन्छ, जहाँ बढीजसो महिलाले लामो कपाल र निःसन्तानले सन्तान प्राप्तिको वर माग्छन्।
मालिका मन्दिर पुग्नै लाग्दा वासुधारा अर्थात् सहस्रधारा आउँछ। वासुधाराबाट थली अर्थात् बडिमालिका मन्दिर जान त्यति सहज छैन। मन्दिर पुग्ने क्रममा निकै जोगिएर हिँड्नु पर्नेपर्छ त्यहाँ केही गरेर खुट्टा चिप्लियो भने शव पनि पाउने सम्भावना देखिँदैन। किनकि त्यहाँ ठूलो खोँच छ। मालिका मन्दिरमा पानी पाइँदैन। फेरि जोखिम मोलेर पानी लिन त्यही वासुधारामा पुग्नुपर्छ।
बडिमालिका चुचुरोमा सानो ठाउँ छ। चचुरोबाट दक्षिणमा तराईको फाँट देखिन्छ, जो बर्दियाको राजापुर हो भन्ने अनुमान गरिन्छ। उत्तरमा बाजुराकै बूढीगङ्गा नगरपालिकामा पर्ने पृथ्वीकै ठूलो अनुमान गरिएको भगवती ढुङ्गो र धवलपुरको डाँडो देखिन्छ।
चौथो दिन बडिमालिकाबाट पूजापछि नाट्यश्वरी मन्दिर जाने चलन छ । नाट्यश्वरीको बाटो पनि आधा दिन जति निकै कठिन छ। बडिमालिका मन्दिरबाट ओरोलो झर्दा निकै ख्याल गरेर हिँड्नु पर्ने हुन्छ। धेरै तल पुगेपछि धर्मद्वार भेटिन्छ। धर्मद्वारमा एउटा ढुङ्गामा सानो प्वाल छ। त्यो प्वालमा एकातिरबाट पसेर अर्केतिर निस्कन सक्नेलाई धर्मात्मा मानिन्छ।
फेरि हिलाम्य ओरालो बाटो र घना जङ्गल हुँदै धवलपुरी दह (ताल) नपुग्दासम्म कठिनाइ भोग्नुपर्छ। तालबाट नाट्यश्वरीसम्म सोझो बाटो भएकाले यात्रा सहज हुन्छ।
नाट्यश्वरीमा चौथो रात बिताएपछि भोलिपल्ट भाकल गरेकाले बोका बलि दिने चलन छ। नाट्यश्वरीमा सयौँ बोका अनेकाैँ शैलीमा काटिन्छन्। त्यो हेर्न पनि भीड लाग्ने गर्छ।
बडिमालिका क्षेत्रमा ५० भन्दा बढी दुर्लभ र बहुमूल्य जडीबुटी पाइन्छन्। क्यान्सर रोगको औषधिमा प्रयोग हुने लौठसल्ला र गोब्रेसल्लादेखि गदाल्नो, बुझो, बनलसुन, बायोजडी, पाँचऔँले, पद्मचाल, सुगन्धवाल, भूतकेश, कटुकी, हातेजडी, सिलाजितसम्मका जडीबुटी त्यहाँ पाइने गरेको आयुर्वेद विज्ञ बीपी तिमिल्सेना बताउँछन्।
राष्ट्रप्रमुख र संवैधानिक अङ्गका प्रमुख पनि जान्छन्
राष्ट्रिपति विद्यादेवी भण्डारीले जेठ १८ गते बडिमालिकामा पूजाआजा गरिन् । यसअघि राजा महेन्द्र, वीरेन्द्र, सेना, प्रहरी प्रमुखहरू त्यहाँ पुगेका छन्। तत्कालीन राजा वीरेन्द्रले २०३६ सालमा मालिकामा ठूलो घण्ट चढाएका थिए।
मालिकामा बाजुरा, अछाम, डोटी, कालीकोट र जुम्लाबाट सरकारी तहमै पूजाआजा गरिन्छ। डोटीबाट मेलाको १५ दिनअघि नै डोलजात्रासहितको टोली, अछामको वैद्यनाथ मन्दिरबाट पाक्न लागेको धानको बाला लगेर आठ दिन अगाडि र बाजुराको टोली तीन दिन पहिले मालिका मन्दिर पुग्ने गर्दछन् । डोटी र जुम्लाको टोली बाइसे र चौबीसे राज्यकालभन्दा पहिलेदेखि नै मालिका पूजाआजाका लागि जाने गरेको बूढापाकाहरू बताउँछन्।
कसरी पुग्ने मार्तडी
काठमाडौँ वा मुलुकका अन्य भागबाट मालिका जानका लागि सबैभन्दा पहिले मार्तडी वा त्योभन्दा केही वर जडाङ्गा पुग्नुपर्छ । ती ठाउँमा पुग्नका लागि काठमाडौँबाट धनगढी हवाई सेवा वा बसबाट पुग्नुपर्छ । आफ्नो निजी गाडी भए धनगढीबाट १० घण्टामा मार्तडी वा जडाङ्गा पुगिन्छ । बसबाट गएको खण्डमा भने १६ घण्टाजति लाग्छ ।
अर्को विकल्प काठमाडौँबाट नेपालगञ्ज वा सुर्खेत पुगेर जहाजमा बाजुराको कोल्टी पुग्नुपर्छ । त्यहाँबाट यातायातको साधनमा केही घण्टामा मार्तडी पुग्न सकिन्छ । हिँड्नुपर्दा भने एक दिन लाग्छ ।