• १३ चैत २०८२, शुक्रबार

नेपालका जाति र भाषाका विषयमा फरकफरक तथ्यहरु छन् : प्राडा पोखरेल

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, चैत १३ गते । भाषा विज्ञानका प्राध्यापक डाक्टर माधव प्रसाद पोखरेलले नेपालका जाति र भाषाका विषयमा अध्ययनपिच्छे फरक तथ्यहरु भएको बताउनुभएको छ । 

टीकापुर साहित्य महोत्सवमा प्रा.डा. पोखरेलले सिमित इतिहास र साहित्य पढ्दा एउटा कुरा देखिने र अध्ययनको सीमा बढाउदै जाँदा धेरै नयाँ नयाँ तथ्यहरु पनि आइ रहेको बताउनुभएको हो । प्रा.डा.पोखरेलले नेपालसँग मानसरोवर क्षेत्र खसहरुको क्षेत्र भए पनि सातौं शताब्दीमा सङचङ गम्पोले बुकी सुन कब्जा गर्न खस राजाको हत्या गरी भूभाग नै कब्जामा लिइएको बताउनुभयो । 

डा. पोखरेलका अनुसार नेपालको एकमात्र पुरानो आदिवासी कुसुण्डा भएको र कुनै भाषाको व्यूत्पत्ति नभएको कुसुण्डा भाषा नेपालको सबैभन्दा पुरानो भाषा भएपनि बोलिदिने कोही नभएर लोप हुन लागेको छ । ‘राजी भाषाका बारेमा भारतका प्रा.डा. कविता रस्तोगी, नेपालका रमेश खत्री र दुमिनन्द ढकालले अध्ययन गर्नु भएको छ’ डा. पोखरेल भन्नुहुन्छ, ‘राजी भाषा हिमाली भाषा भएकाले भारतका राजी र नेपालका राजीको भाषा मिल्दैन । 

भारतमा डा. कविताले अध्ययन गरेको राजी भाषा नेपाली राउटेसँग मिल्छ ।’ उहाँका अनुसार रोल्पा, रुकुम, बागलुङका मगरको खाम भाषा र पूर्वका राई लिम्बुको भाषासँग मिल्ने गरेको छ ।

नेपालमा आर्य पनि दुईथरी रहेका पोखरेलको मत छ । ‘वैदिक आर्य र इरानी आर्य गरी दुईथरी छन्,’ पोखरेल भन्नुहुन्छ, ‘खाँबो गाडेर घरर बनाउने इरानी आर्य हुन इटा पारेरबनाउने वैदिक आर्य हुन । हिन्दुको ऋग्वेद र इरानीको अवेस्ताका कयौं ऋचा मिल्दोछन् ।’

यसैगरी, ड‍ा. पोखरेलले थारुको मूलथलो हाल चीनको राजधानी पेचिङभन्दा पूर्वतिर रहेको बताउनुभयो । ‘थारूहरु चीनको याङसी नदी किनार हुँदै थाइल्यान्ड, बर्मा, आसम हुँदै नेपाल पुगेका हुन थारुको रगतको जीन भोट बर्मेलीसँग मिल्ने गरेको छ’ डाक्टर पोखरेलले भन्नुभयो, ‘थारुहरू नेपालीको चारकोसे झाडी वरपर बसेर धानखेती गर्ने थारुको जीवन जंगल, जडिबुटी, माछा र धानसँग जोडिएको छ ।’ पोखरेलका अनुसार थारू एक जाति अनेक भाषा भएको आग्नेय जाति हो भने कोचिला, मधेश, चितौनियाँ, दङ्गाली, राना थारुको भाषा फरकफरक छन् र महाकाली पारी बस्ने थारुको भोक्सा भाषा छुट्टै छ ।

महोत्सवको अर्को सत्रमा आख्यानकार तथा नेपाल सङ्गीत नाटक प्रज्ञा प्रतिष्ठानका कुलपति  सरूभक्तले राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा पुस्तक गयो भने एउटै पुस्तकको आम्दानीले सन्ततिका लागि पनि पुग्ने भएकाले साहित्यकार सबै गरिब हुदैनन् भन्ने बुझ्नुपने बताउनुभयो । ‘भाषा साहित्यको सेवा गर्दा धन कमाउने लक्ष्य हुदैन पढनु लेख्नु भनेको कमाउनका लागि मात्रै होइन’ सरुभक्तले भन्नुभयो, ‘पुरस्कार यात्राका बिचमा थकाइ मार्ने पडाउ जस्तै हुन सधै पुरस्कार प्राप्त लेखक नभनुन जस्तो लाग्छ ।’

पोखरेली माटोमा साहित्य साधना गर्दै तमाम कृति प्र्काशन गर्नु भएका सरुभक्तले चाँडैनै एउटा महाकाव्य प्रकाशनमा आउने जानकारी दिनुभयो । उहाँले आफू प्रतिष्ठानको कुलपति हुँदा राजनीतिक हस्तक्षेप विना काम गर्न पाउनुपर्छ भन्ने शर्तसहित पदवहाली गरेको, यस अवधिमा कुनै समस्या आफूले नभोगेको र पदमा रहँदा प्रतिगन्ध उपन्यास तयार गरेको बताउनुभयो । 

टीकापुर साहित्य महोत्सवको उद्घाटन सत्रमा प्रमुख वक्ताका रुपमा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले साहित्य महोत्सवमा भाषा, साहित्य, समाज विज्ञानका  विविध विषयमा हुने छलफलले विश्वविद्यालयलाई पनि सहयोग पुग्ने बताउनुभयो । 

‘बहस छलफलबाट नयाँ विषय आउनेछन् प्रा.डा. पन्तले भन्नुभयो, ‘ महोत्सव शुरु हुनु अघि  विभिन्न क्याम्पसमा भएका लेखन कार्यशालामा सहभागी विद्यार्थीहरुलाई पनि फाइदा पुगेको छ ।’ कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले टीकापुर सहित्य महोत्सवले थारू साहित्य, संस्कृतिलाई प्रवद्र्धन गर्ने र यहाँबाट आएका कुरा प्रतिष्ठानले सम्वोधन गर्ने बताउनुभयो। 

यस्तै, महोत्सवको उद्घाटन सत्रमा प्रदेश स्तरीय कविता प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ । १५ हजार रुपियाँको प्रथम पुरस्कार चेतना शर्मालाई प्रदान गरिएको छ । दश हजार राशीको द्वितीय पुरस्कार उद्गम मिसनलाई र पाँच हजार राशीको तृतीय पुरस्कार स्वीकृति शर्मालाई प्रदान गरिएको छ भने सान्त्वना पुरस्कार कमल ढुङ्गाना र रचना डीसीलाई प्रदान गरिएको छ । महोत्सवको उद्घाटन सत्रमा दोस्रो संस्करणको स्मारिका पनि सार्वजनिक गरिएको छ ।