• ७ वैशाख २०८१, शुक्रबार

एडिनो भाइरसको प्रकोप

बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै

blog

काठमाडौं, साउन १७ गते । पछिल्लो केही दिनदेखि बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढ्दै गएको छ । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. अनिल श्रेष्ठले बालबालिकामा भाइरल ज्वरोको सङ्क्रमण बढेसँगै अस्पतालमा बिरामीको भीड बढ्न थालेको जानकारी दिनुभयो । अस्पतालको मेडिकल ओपिडीमा दैनिक चार सयको हाराहारीमा ज्वरो आएका बालबालिका आउने गरेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, अस्पतालको इमर्जेन्सीमा एक सय देखि डेढ सयको हाराहारीमा ज्वरोका बिरामी आउने गर्दछ । डा. श्रेष्ठले अस्पतालमा आएका अधिकांश बिरामी ज्वरो आउँने, वान्ता हुने, नाकबाट सिगाँन बग्ने, आँखा रातो हुने, जिउ, टाउको दुख्ने जस्ता लक्षण लिएर आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अस्पतालमा आएका अधिकांश बिरामीहरु ज्वरोसँगै रुघाखोकी, घाँटी दुख्ने, आँखा पाक्ने, शरीर दुख्ने जस्ता लक्षण लिएर आउने गर्नुभएको छ ।” भाइरल ज्वरोका बिरामी बढेसँगै केही समय अघि कान्ति बाल अस्पतालले बिरामीको स्वाब राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाउँदा अधिकांश बिरामीमा ‘एडिनो भाइरस’ पुष्टि भएको थियो ।

एडिनो भाइरस के हो ?

डा. श्रेष्ठका अनुसार यो एडिनो भाइरस मौसमी भाइरस हो । यो हरेक वर्ष देखिने गर्छ । भाइरस बेला बेलामा प्रकोपको रुपमा देखिने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“यो भाइरस नयाँ भाइरस होइन, यो भाइरस बेला बेलामा प्रकोपका रुपमा देखा पर्ने गर्छ । अस्पतालमा यस्ता खालका बिरामी बैशाख सुरु भएदेखि आएका छन् ।”

यो भाइरस विद्यालय जाने सबै उमेर समूहका सबै बालबालिकामा देखिएता पनि १० वर्ष कम उमेरका बालबालिकाहरुलाई बढी मात्रामा देखिने उहाँ बताउनुहुन्छ । बालबालिकामा अन्य इन्फ्लुएन्जा भाइरस सङ्क्रमण हुँदा ९९ देखि १०० डिग्री ज्वरो आउँछ भने एडिनो भाइरस सङ्क्रमण हुँदा १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार धेरैजसो भाइरल ज्वरो तीनदेखि पाँच दिनमा कम भएर जान्छ भने एडिनो भाइरस दुई हप्तासम्म रहन सक्छ । एडिनो भाइरस सङ्क्रमण रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिकामा बढी देखिने गर्छ ।

एडिनो भाइरसका लक्षण ज्वरो आउने, नाकबाट अलिअलि पानी बग्ने, खोकी लाग्ने, बच्चालाई खाना खान मन नलाग्ने, ज्यान दुख्ने, आँखा रातो हुने, झाडापखाला पनि लाग्ने, पेट दुख्ने, वान्ता हुने, दिसा पातलो हुने, पिसाबमा इन्फेक्सन हुने जस्ता लक्षण देखिन्छ ।

यो भाइरस कसरी सर्छ ?

चिकित्सकका अनुसार एडिनो भाइरस संक्रमण कोरोना भाइरस जस्तै श्वासप्रश्वासको माध्यमबाट एक मानिसबाट अर्कोमा सर्ने गर्छ । खोक्दा वा हाँच्छ्यु गर्दा खकार, थुक, ¥याल, सिगान, आँसुको माध्यमबाट पनि सर्ने डा. श्रेष्ठ बताउनुहुन्छ ।

यो श्वासप्रश्वासको माध्यमबाट सर्ने हुँदा विद्यालयमा जाँदा सङ्क्रमित बच्चाबाट अन्य बालबालिकालाई यो सङ्क्रमण सर्ने सम्भावना रहने उहाँले बताउनुभयो । यो भाइरस लाग्न नदिन विद्यालयमा सकेसम्म बालबालिकालाई टाढा टाढा राख्न, माक्सको प्रयोग गर्न चिकित्सकको सुझाव छ ।

कसरी जोगाउने ?

सङ्क्रमणबाट जोगिन नियमित रुपमा जनस्वास्थ्यका मापदण्ड पालन गर्न डा. श्रेष्ठको सुझाव छ । उहाँले भन्नुभयो, “यो भाइरस छिटो सर्ने गर्छ । कोरोनाबाट जोगिन जनस्वास्थ्यका नियम पालन गर्ने, नियमित हात धुने, नियमित सरसफाइमा ध्यान दिने र आ–आफ्नो सामानको मात्र प्रयोग गर्ने, हात र नाकले मुखमा नछुँदा यो भाइसबाट जोगिन सकिन्छ ।”

यो भाइरस चिकित्सकको सल्लाह बमोजिम नियमित रुपमा प्यारासिटामोलको मात्रा खाने, रोग प्रतिरोधात्मक क्षमता बढाउन घरमा बनाएको पोषिलो र प्रोटिनयुक्त झोलिलो खानेकुरा खुवाउने आराम गराउने चिकित्सकको सुझाव छ।

ज्वरो एकहप्तासम्म पनि ठीक नभएमा, ज्वरो सँगसँगै बालबालिका आलस्य भएमा, वान्ता पटक–पटक गरेमा, श्वासप्रश्वास छिटाे–छिटाे फेरेमा, कोखा हानेको अवस्थामा तुरुन्तै अस्पताल लैजानुपर्ने डा. श्रेष्ठको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।