• १४ वैशाख २०८१, शुक्रबार

पदमसाल हत्या प्रकरण

क्षणभरमै पाण्डे परिवार सखाप

blog

धर्मस्थली (काठमाडौं), साउन १६ गते । चारजना पाण्डे परिवारको सुखी संसार थियो । तर त्यो सुखी संसार लामो समयसम्म टिक्न सकेन । आइतबार राति क्षणभरमै सुखी परिवार नै सखाप भयो ।

तारकेश्वर नगरपालिका वडा नं. २ को पदमसालस्थित एउटा एकतले घरमा चारजनाको परिवार बस्दै आएका थिए । सोमबार बिहान ९ बजेसम्म छोरी आशिका र छोरा आशिक विद्यालय जान बाहिर निस्केनन् ।

विद्यालयको गाडी सदा झै पदमसाल चोकमा अडियो । केहीबेर रोकेर हेर्दा पनि बच्चाहरु गाडी चढ्न आएनन् । गाडीवालाको आग्रहपछि छिमेकीहरू पाण्डे निवास पुगे । घरको मुख्यद्वार बन्द भेटियो । भित्रबाट नै बन्द गरिएको देखियो ।

त्यसपछि छिमेकीको घरबाट केही शुभ चिन्तक पाण्डेको घरको कम्पाउण्डभित्र प्रवेश गर्छन् । घरका झ्याल र मुख्य ढोका पनि बन्द देख्छन् । बोलाउँदा कसैको पनि आवाज आएन ।  भित्रबाटै ढोका बन्द थियो । यसपछि प्रहरीलाई खबर गरिएको घटनास्थलमा भेटिनु भएका एक छिमेकी बताउँछन् ।

यो समाचारदाता घटनास्थल पुग्दा एक तले घरको बाहिर ‘सुनिता काप्री पाण्डे’ निवास लेखिएको देखिन्छ । त्यही मुनि हिलोमा बसेर काप्रीको माइतीतर्फका आफन्त अलाप विलाप गरिरको कारुणिक दृश्य देखिन्थ्यो ।

प्रहरी वृत्त बालाजुबाट खटिएको अनुसन्धान टोली घटनास्थलमा मुचुल्का उठान व्यस्त थियो । चोकदेखि घरसम्म घटनाका बारेमा बुझ्न जाने र चासो राख्नेको भीड देखिन्थ्यो । घटनाबारेमा कसैले खुलेर भन्न चाहेनन् ।

छिमेकीहरू निकै दुःखी र स्तब्ध रहेको त्यहाँको वस्तुस्थितिले देखाउँछ । आफ्नो नाम प्रकाशन नगर्न आग्रह गर्ने एक छिमेकी भन्नुहुन्छ, ‘‘पाण्डेजी मोबाइलको पसल गर्ने, डिक्स होम जोड्ने काम गर्नु हुन्थ्यो, उहाँ सहयोगी पनि हुनुहुन्थ्यो । उहाँको श्रीमती फेन्सी पसल चलाउनु हुन्थ्यो । श्रीमतीको युके (संयुक्त अधिराज्य बेलायत) को भिसा लागेको सुनेको हो, त्यसैमा विवाद भएर घटना भएको हो कि ?’’

घटनास्थलमा रहेको प्रहरी टोलीका अनुसार, त्यहाँ पुग्दा घरको सम्पूर्ण झ्याल ढोकाहरु भित्रबाट बन्द अवस्थामा रहेका थिए ।

पाण्डे परिवारको घर, व्यापार र सुखी एकै रातमा चौपट्ट भएको छ, अवोध दुई सन्तानले पनि अकालै ज्यान गुमाउनु परेको छ । घटनास्थलमा भेटिएका महिलाहरूको आँखा रसाएका छन् । हिलो र झमझम पानी नभनी घटनास्थलमा आउने र जानेको सङ्ख्या बराबरी जस्तै देखिन्छ ।

मृतक को हुन् ?
घटनास्थलमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ६ अश्राङ स्थायी घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं.२ पदमसालस्थित बस्ने घर धनी वर्ष ४१ को दिनेश पाण्डेको शव भेटिएको जानकारी जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले दिनुभयो ।


सोही घटनामा पाण्डेकी श्रीमती ३९ वर्षका सुनिता पाण्डे, वर्ष १३ की छोरी आशिका र वर्ष ८ का छोरा आशिषको शव फेला परेको छ । घटनास्थलमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फोरेन्सिकका डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली अनुसन्धानमा संलग्न छ । 

यसैगरी, काठमाडौं परिसरबाट प्रहरी उपरीक्षकसहितको टोली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली र प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको टोलीले घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

घटनास्थलमा रहनुभएका तारकेश्वर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष राधाकृष्ण खड्गी भन्नुहुन्छ, ‘‘घटनाको प्रकृति हेर्दा श्रीमती, छोरा, छोरीको हत्यापछि पाण्डे आफैँले आत्म हत्या गरेको जस्तो देखिन्छ, अहिले पीडित दुवै पक्षका परिवारका सदस्यहरु आइपुगेका छन् । प्रहरीको अनुसन्धान टोली अध्ययन गर्दै छ, विस्तृत विवरण आउन बाँकी छ ।’’

‘‘घरभित्रको दृश्य यति भयानक छ, शब्दमा व्यक्त गर्न सकिन्न,’’ ढोकाबाट बाहिँरिदै गरेका एक छिमेकीको भनाइ छ । अर्का छिमेकीको भनाइ अलिक फरक छ, ‘‘यस्तो होला भनेर कसरी कल्पना गर्ने ? साना तिना झगडा त हुन्छ तर झणभरमै परिवार नै सखाप होला भनेर कसरी कल्पना गर्ने ?’’

पाण्डे परिवारको घर, व्यापार र सुखी एकै रातमा चौपट्ट भएको छ, अवोध दुई सन्तानले पनि अकालै ज्यान गुमाउनु परेको छ । घटनास्थलमा भेटिएका महिलाहरूको आँखा रसाएका छन् । हिलो र झमझम पानी नभनी घटनास्थलमा आउने र जानेको सङ्ख्या बराबरी जस्तै देखिन्छ ।

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।