• ४ साउन २०८१, शुक्रबार

नवदुर्गा गाउँपालिकाको डोजरकाे आम्दानी ४४ हजार, खर्च नौ लाख

blog

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको कार्यालय । तस्बिरः पुष्कर भण्डारी

डडेल्धुरा, साउन १५ गते । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको डोजरको वार्षिक आम्दानीभन्दा खर्च २० गुणा बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ सालको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।

‘नवदुर्गा गाउँपालिकामा रहेको डोजरको मर्मत तथा इन्धनमा यो वर्ष कार्यालयले नौ लाख १७ हजार खर्च गरेको छ । तर डोजर भाडामा लगाएवापत कार्यालयले ४४ हजार मात्र आम्दानी गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित योजनामा समेत यसको प्रयोग भएको पाइएन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।, ‘कार्यालयले उपलब्ध मेशिनरीको अधिकतम प्रयोग गर्ने एवंम सरकारी रकम लगानी उचित प्रतिफलमा प्राप्त हुने गरी प्रयोग गर्न जरुरी छ ।’

यस्तै नवदुर्गा गाउँपालिकाले ०७७ साल असोज १२ गते डोजर मर्मत वापतको ४१ हजार ६ सय भुक्तानी गर्दा सक्कल कर बिजक र भौचर समावेश नगरेको पनि पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७६ को नियम ३७ (३) बमोजिम सरकारी रकम खर्च गर्दा खर्चको बिल भरपाइसहित लेखामा राख्नुपर्ने व्यवस्था छ । 

गाउँपालिकाले योजना कार्यान्वयनका क्रममा अनियमित रुपमा पनि खर्च गरेको भेटिएको छ । उपभोक्ता समितिसँग सम्झौता गरेको योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गर्दै भुक्तानी गरेको पनि पाइएको हो । संघीय कानूनविपरीत उपभोक्ता समितिलाई मेशिन प्रयोग गर्न दिने गरी व्यवस्था नै गरेर नवदुर्गा गाउँपालिकाले ०७७ साल मंसिर १९ मा सुवाकोट सडक निर्माण कार्यका लागि २३ लाखमा सम्झौता गरी १६ लाख ५० हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ ।

भुक्तानी भएको साढे १६ लाखमध्ये नियमावली विपरीत दिव्यज्योती निर्माण सेवालाई १५ लाख ९९ हजार ४२३ रुपियाँ भुक्तानी दिएको पनि पाइएको छ । ‘यसरी उपभोक्ता समितिले गर्ने काम निर्माण व्यवसायीलाई दिइ कार्य गरेकाले १५ लाख ९९ हजार ४२३ रकम अनियमित भएको छ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

Author

पुष्कर भण्डारी