• ५ चैत २०८२, बिहिबार

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा दम्पतीको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, चैत ५ गते । कैलालीको कैलारी गाउँपालिका –५ बैजपुरस्थित हुलाकी राजमार्गमा ट्रकको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु भएको छ । 

बुधबार राति ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा त्यसमा सवार कैलारी गाउँपालिका –५ का ६० वर्षीय कलेसु चौधरी र उहाँकी श्रीमती ७० वर्षीया सीतारानी चौधरीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट बयलगाडा तानिरहेको एउटा गोरुको पनि मृत्यु भएको छ भने अर्को गोरु घाइते भएको जनाइएको छ । 

ट्रकले ठक्कर दिएपछि टाउको र मुखमा गम्भीर चोट लागेका श्रीमान श्रीमति दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । चिकित्सकले चेकजाँच गरी सीतारानीलाई मृत घोषणा गरेका थिए । यसैगरी, कलेसुको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । 

चालक धनगढी उपमहानगरपालिका –३ बोराडाँडीका ३३ वर्षीय रुबेन थापामगरलाई ट्रकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।