• ५ चैत २०८२, बिहिबार

तनहुँमा डढेलो रोक्न सचेतना अभियान

blog

म्याग्दे गाउँपालिकामा निकालिएको सचेतना र्‍याली । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, चैत ५ गते । सुक्खा मौसमसँगै वन डढेलोको जोखिम बढ्दै गएपछि तनहुँमा डढेलो रोकथाम र न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ । डिभिजन वन कार्यालय तनहुँले ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने मूल नाराका साथ साताव्यापी सचेतना अभियमा सञ्चालन गरेको हो ।

सुक्खा मौसम र हावाहुरी चल्ने समय भएकाले अधिकांश वन क्षेत्र डढेलोको उच्च जोखिममा रहेकोले जिल्ला व्यापी अभियान सञ्चालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । 

अभियान अन्तर्गत जिल्ला विपत् व्यवस्थापन समितिको नेतृत्वमा सुरक्षा निकाय र वन कर्मचारी सम्मिलित द्रुत प्रतिकार्य टोली परिचालन गरिएको छ । डढेलो नियन्त्रणका लागि कार्यालयले चार हजार दुई सय लिटर र एक हजार लिटर क्षमताका विशेष पम्पसेटहरू तयारी अवस्थामा राखेको छ । 

जिल्लाका सामुदायिक, कबुलियती र निजी आवादी वनहरूलाई जोखिममुक्त बनाउन बस्ती नजिकका प्रज्वलनशील पदार्थ हटाउने, अग्निरेखा कोर्ने र जनचेतनामूलक सामग्री वितरण गर्ने कार्यलाई तीव्रता दिइएको छ। यस कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय वन उपभोक्ता समितिहरूसँग समन्वय गरिएको छ ।

सप्ताहकै अवसरमा पहिलो दिन व्यास नगरपालिका–४ स्थित बागभन्ज्याङ सामुदायिक वनमा प्रयोगात्मक अभ्यास गर्नुका साथै डढेलो नियन्त्रण गर्ने उपकरणहरू हस्तान्तरण गरिएको छ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपाने, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी र वन अधिकृत रानाभाटले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो । 

सो क्रममा अग्निरेखा सरसफाइ र नियन्त्रित आगो लगाउने विधिको प्रदर्शन गर्दै स्थानीयलाई डढेलो लागेमा छिटो प्रतिक्रिया दिनेबारे प्रशिक्षण दिइएको थियो। फागुनदेखि जेठसम्मको चुनौतीपूर्ण समयलाई मध्यनजर गर्दै सरकारले चैत १ देखि ७ गतेसम्म वन डढेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ । 

सचेतना सप्ताह अन्तर्गत डिभिजन वन कार्यालय तनहुँले म्याग्दे गाउँपालिका–४, थर्पुदेखि जामुनेसम्म सचेतनामूलक र्‍याली निकालेको छ ।